बनेपा, आभाष बचत तथा ऋण सहकारी संस्था.लि बनेपाले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई शनिबार चण्डेश्वरी मन्दिर प्राङ्गणमा सम्मान गरेको छ । माला, खादा प्रमाण पत्र र पौष्टिक आहार प्रदान गरी सम्मान गरिएको हो । संस्थामा शेयर सदस्य बनेका १ सय ६३ सदस्यलाई कार्यक्रमका प्रमुख अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले माला, खादा र प्रमाणपत्रबाट स्म्मान गर्नुभएको हो । कार्यक्रममा संस्थाका उपाध्यक्ष ग्रुवेन तौजलेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा जिल्ला सहकारी संघ काभे्रका अध्यक्ष दिलिप शर्मा, संस्थाका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शुरकृष्ण वैद्य, बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, बनेपा ७ का वडा अध्यक्ष हिटलर शाक्य अतिथी हुनुहुन्थ्यो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा वैद्यलाई बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी शान्ति रत्न शाक्यले सहकारी संस्थामा देखिएका समस्या र विकृतिलाई चिर्दै आर्थिक विकासको खम्बाको रुपमा रहेको सहकारीले शेयर सदस्यहरुको जिवनमा हाँसो र खुसी ल्याउन सक्नुपर्ने धारणा राख्नुभयो । बनेपामा सञ्चालित आभाष साकोसले युवा ,जेष्ठ नागरिक सबैको विश्वास जितेको हुनाले नै संस्थाले प्रगति गर्न सकेको तर्क प्रमुख अतिथी शाक्यको थियो । विगत १२ वर्ष देखि सम्पन्न हुन नसकेको काभे्र उपत्यका एकिकृत खानेपानी अब सम्पन्न हुने अवस्था आएको र हाम्रा नगरका सबै जनप्रतिनिधीको सहयोगले अबको २÷ ३ दिनमा बनेपा नगरबासीले पिउने पानी खानपाउने कुरा नगर प्रमुख शाक्यले उल्लेख गर्नुभयो । संस्थाका अध्यक्ष दिनेशराज कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश कायस्थले गर्नुभएको थियो ।
