भकुण्डवेशी÷ नेपालका ७ र सिक्किमका २ समेत ९ स्थानीय तहका जनप्रतिनिधीहरुले नमोबुद्ध नगरपालिकामा भएका असल अभ्यास अबलोकन गरेका छन् । नमोबुद्ध २ स्थित पातालको धारो र भागवते पाखाको कुवाका साथै धार्मिक पर्यटकीय स्थल नमोबुद्ध परिसरको अध्ययन अबलोकन गरेका हुन् ।
दैलेखको दुल्लु नगरपालिका र नौमुले गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका र छत्रजोरपाटी गाउँपालिका, डोटीको जुरायल गाउँपालिका, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, रसुवाको गोसाइकुण्ड गाउँपालिका, ललितपुरको गोदावरी नगरपालिका र सिक्किम स्थित हुचेन ताकुतान ग्राम पञ्चायत र सुल्दुङ काम्लिङ ग्राम पञ्चायतबाट जनप्रतिनिधीहरुले भूकम्पपछि सुकेका मुहान कसरी पुनर्भरण भए भन्ने जानकारी लिएका थिए । जमिनलाई रसिलो बनाइराख्न खनिएका ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका श्रोत (मुहान) बारे जनप्रतिनिधी सहितको टोलीले स्थलगत नै जानकारी लिएको हो ।
नमोबुद्ध–२ का इन्द्रबहादुर कुइकेलले भुकम्प अघि नै सुकेको पातालको धारोको मुहान रिचार्ज पोखरी खनिएपछि फेरी रसाएको बताए । भुकम्प आउनुभन्दा केही समय अघि पानीको मुहान सुक्यो, त्यति बेला हामी खानेपानी किनेर ल्याएर गाइबस्तुलाई खुवाएर दुध बेच्यौ,’ कुइकेलले भने, पछि खनिएका रिचार्ज पोखरी, अन्य खाल्डाका कारण पातलको धारो फेरी रसाएको छ । ’ उनका अनुसार, अहिले टंयाकीमा दैनिक ३५ सय लिटर जति पानी जम्मा हुने गरेको छ । १७ घरधुरीले दैनिक २ सय लिटरको दरले खानेपानी उपयोग गर्छन् । नमोबुद्ध नगरपालिका वडा नं २ ले मुहान क्षेत्रमा घेराबार र पहुँच मार्ग पनि बनाइदिएको छ ।
इसिमोड र सिप्रेडको सहयोगमा नमोबुद्ध नगरपालिकाले मुहान संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले सो क्षेत्रका विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आ.व २०७८÷७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए । टोलीलाई नगरपालिकामा स्वागत गर्दै नगर प्रमुख कुनसाङ लामाले मुहान संरक्षण, बातावरण संरक्षणको क्षेत्रमा काम गर्दा प्रतिफल देखिएको भन्दै यसलाई निरन्तरता दिएको बताए ।
