बनेपा नगरपालिकामा पहिलो आधारभूत नगर अस्पताल बनेपा नगरपालिकाको वडा नम्बर ४ स्थित साबिक नाला हेल्थपोस्ट भएको स्थानमा कार्य प्रारम्भ भएको छ । पूर्वमन्त्री एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बास्कोटाले सेवा र भवनको शुभारम्भ गर्नु भएको छ । ‘प्रसूति, आकस्मिक र सामान्य उपचार सहित अन्य सेवा निरन्तर उपलब्ध गराउने गरी अस्पतालको सेवा कार्य प्रारम्भ गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अनुसार ‘दुई जना विशेषज्ञ डाक्टर सहित १५ जना स्वास्थ्यकर्मीहरु नियमित सेवामा संलग्न हुनेछन् ।’ नगरपालिकाले थप भौतिक पूर्वाधारका लागि ५ तल्ले भवनको साढे १८ करोडको डिपिआर तयार गरिएको जानकारी दिएको छ । आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले देशभरमा केपी ओली नेतृत्वको सरकारको पालामा एकै दिन ३ सय ९३ वटा अस्पतालको शिलान्यास गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाले तीन तहकै सरकारसँग समन्वय सहकार्य गरेर विकास गर्ने योजना बनाएको बताउनु भयो । उपप्रमुख विमला सापकोटा राजनीतिक दलका प्रतिनिधिहरु नेपाली काँग्रेसका योगराज दाहाल, नेकपा एमालेका बनेपा नगर अध्यक्ष रत्नकुश रञ्जित, राप्रपाका सिताराम दाहाल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम सेढाईले अस्पताललाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा बनेपा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महत्तो लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव सरिता श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
