अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डको निर्माण कार्य एक हप्ता भित्र सुचारु नगरिए ठेक्का नै खारेज गर्ने चेतावनी दिइएको छ । उक्त सडकखण्डमा स्थानीयले कष्टकर यात्रा गर्नुपरेपछि धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तार र स्तरोन्नतीको काम समयमानै सम्पन्न गर्न काभ्रेका जनप्रतिनिधि, प्रशासन तथा सडक डिभिजन कार्यालय भक्तपुरले ताकेता गरेको छ । सडक स्तरोन्नतीका विषयमा गत मंगलबार सरोकारवाला बिच भएको छलफलमा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले निर्माण व्यवसायीलाई कामलाई तिब्रता दिन एक हप्ताको अल्टिमेटम दिएका,े समय भित्रमा निर्माण व्यवसायीले कामलाई तिब्रता नदिएमा कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । सडक बिस्तार तथा स्तरोन्नती काम सुरु भएको १० महिना हुँदा जम्मा १० प्रतिशत मात्र काम भएपछि निर्माण पक्ष गौरी–पार्वती निर्माण सेवा प्रालि प्रति सबैले आक्रोश पोखेका छन ।
निर्माण सुरू भएको ४७ प्रतिशत समय बितिसक्दा १० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले जानकारी दिनुभयो । डिभिजन प्रमुख मरासिनीका अनुसार संझौता रद्ध गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारवाही अगाडि बढाइने छ । सडक खण्डको विस्तार र स्तरोन्नती कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लि बिच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौता अनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले कामलाई तिब्रता दिन निर्माण व्यवसायीलाई एक हप्ताको समय सिमा तोकिएको बताउनुभयो । छलफलमा सवारी साधनले तोकिएको भन्दा बढी भार बोकेका कारण सडक दुर्घटना हुने र सडक समेत बिग्रिने हुँदा तौल पुल सञ्चालनमा ल्याउन कारवाही अगाडि बढाउने, विद्यार्थी र जेष्ठ नागरिकलाई नेपाल सरकारद्वारा तोकिएको सहुलियत उपलब्ध गराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । जिप्रका काभ्रेले निर्माण व्यवसायिले अटेर गरी काममा तिब्रता नदिए ठेक्का रद्ध गर्ने र लाइसेन्स खारेज गर्ने दवाव दिएपछि धुलिखेल खावा सडक खण्डको मर्मत कार्य आइतबार साँझ ८ बजेबाट अधि बढेको छ ।
