IMG-LOGO

रोटरी पनौतीको स्थापना दिवसमा क्षयरोगीलाई अण्डा वितरण

 मंगल, चैत ७, २०७९  --

 

       पनौती/रोटरी क्लब अफ पनौतीले आठौं स्थापना दिवस पनौती नगर क्षेत्रका क्षयरोगका बिरामीहरुलाई अण्डा वितरण गर्दै मनाएको छ । क्लबले सेवा परियोजना अन्तर्गत पनौती नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा यो कार्यक्रमको आयोजना गरेको हो ।

       पनौतीका नगर प्रमुख रामशरण भण्डारीले रोटरी क्लब अफ पनौतीले नगरपालिकासँग सहकार्य गर्दै विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरु गरिरहेकोमा प्रशंसा गर्दै भन्नुभयो, ‘क्लबले सामुदायिक तथा घरपालुवका कुकुरलाई रेबिज विरुद्धको खोप तथा जनचेतना कार्यक्रम, स्कूल दुध दिवस, सामुदायिक विद्यालयहरु माइ-लर्निङ ल्याब र एकै खालको पोशाक वितरण, सिसि टीभी क्यामेरा जडान तथा मर्मत सम्भार, डिजिटल डिस्प्ले बोर्ड स्थापना जस्ता कार्यहरुमा नगरपालिकासँग सहकार्य गरेको छ । क्षयरोगका औषधी सेवन गरिरहेका विरामीहरुलाई पोषण प्रवद्र्धन कार्यक्रम अन्तर्गत अण्डा वितरण ज्यादै राम्रो काम हो । अब पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि क्लबलाई आग्रह गर्नुभयो ।

       पनौती नपा, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले पनौती नगरपालिका भित्रमा हाल २८ जना सक्रिय क्षयरोगीहरु रहेका र पायक पर्ने स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको निगरानीमा औषधी उपचार गराइ रहेको जानकारी दिनु भयो । गरिबी र खाद्य असुरक्षा दुवै क्षयरोगका कारण र परिणामहरू हुन् । रोगी र क्षयरोग हेरचाहमा संलग्न व्यक्तिहरूले सामाजिक-आर्थिक समस्याहरूसँग जुध्नु पर्ने बाध्यता रहेको छ । अधिकांश बिरामी गरीब तथा दैनिक मजदूरीबाट पेट पाल्ने अवस्था भएकाले रोटरीको सहयोगमा क्षयरोगका बिरामीको पोषण प्रवद्र्धन कार्यक्रम सुरु गरिएको तिमल्सिनाको भनाई छ ।

       रोटरी क्लबका अध्यक्ष मधुसुधन गुरागाईंका अनुसार यस कार्यक्रम अन्तर्गत प्रोटिनको सस्तो र राम्रो स्रोतका साथै अन्य सूक्ष्म पौष्टिकतत्व भएको अण्डा सेवनका लागि बिरामीहरुलाई प्रोत्साहन गर्ने योजना रािखएको हो । जस अनुसार नियमित औषधि सेवन गरिरहेका बिरामीहरुलाई दैनिक १ वटा अण्डाका दरले ६ महिना सम्मका लागि अण्डा उपलब्ध गराउने योजना रहेको छ । हाल पनौती स्वास्थ्य चौकीबाट सुरु भएको पोषण प्रवद्र्धन कार्यक्रम क्रमशः पनौती भित्रका सबै स्वास्थ्य चौकीहरुमा समेत लागू हुने बताइन्छ । यस पटक पनौतीमा रहेर समुदायमा आधारित वित्तिय सेवा प्रदान गर्दै आएको सुन्दर बस्ती बचत तथा ऋण सहकारी संस्थाको मुख्य सहयोग र सुब्बा गाउँ स्थित लक्ष्मी दाना उद्योग र पोल्ट्री किसान राजकुमार बन्जारा र पोल्ट्री व्यवसायी मञ्चको सहयोगबाट कार्यक्रम थालनी भएको हो ।

       प्रा. डा. सुमनराज ताम्राकारको अग्रसरतामा पनौतीमा सन् २०१६ मा क्लबको स्थापना भएको हो । आठौं स्थापना दिवसका अवसरमा उहाँले खुशी व्यक्त गर्दै भन्नुभयो, ‘पनौती नगर क्षेत्रमा सेवा प्रदान गर्ने उद्देश्यले समयानुकुल धेरै कामहरु गरिसकेका छौं । अब हामी स्वास्थ्यका क्षेत्रमा नयाँ नयाँ सेवा परियोजनाहरु मार्फत स्थानीयहरुको स्वास्थ्य अवस्था सुदृढका लागि क्रियाशील हुन्छौं’, ताम्राकारले भन्नुभयो । कार्यक्रममा पनौती वडा नं. ७ का अध्यक्ष तथा पनौती स्वास्थ्य चौकीका अध्यक्ष सविन ताम्राकारले क्लब सँग मिलेर क्षयरोगीहरुको पोषण अवस्थामा सुधार ल्याउने कार्यमा पहल गर्न पाएकोमा खुशी लागेको बताउनु भयो ।

       नेपाल सरकारले २०७५-०७६ मा सम्पन्न गरेको प्रिभ्यालेन्स सर्भेले वर्षेनी ६९ हजार नयाँ बिरामी थपिने नतिजा देखाएको छ । जसअनुसार प्रति १० लाख जनसंख्यामा २४५ जना नयाँ बिरामी रहेको छ । सबै सरोकारवालाहरुको सहकार्यमा सन् २०५० सम्ममा यो दर १० लाख जन संख्यामा १ जना भन्दा कम गराउने नेपाल सरकारको परिकल्पना रहेको छ । यसैलाई सफल पार्नका लागि रोटरी पनौतीले काभ्रेपलाञ्चोक जिल्ला भरिका क्षयरोगका बिरामीहरुको पोषण प्रवद्र्धन गर्ने उद्देश्यले रोटरीको ग्लोबल ग्रान्ट मार्फत कार्यक्रम लागु गर्न प्रारम्भिक गृहकार्यको थालनी गरिएको क्लबका निवर्तमान अध्यक्ष सितु सैंजुले जानकारी दिनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्