IMG-LOGO

अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

 मंगल, फागुन ३०, २०७९  ---

 

       ढुंखर्क । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बेथानचोक गाउँपालिकास्तरीय चेतनामूलक कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जिना तामाङ प्रथम, देवकी दाहाल तिमल्सिना द्वितीय र सिता तिमल्सिना तृतीय हुनु भएको छ । विजेताहरुले नगद क्रमशः ४ हजार, ३ हजार र २५ सय रुपियाँ प्राप्त गर्नु भएको छ ।

       कवि तथा गजलकार धनेन्द्र ओझा, कवि तथा निवन्धकार भवानी खतिवडा मोडल तथा गजल गायक संगिता थापा लगायतको समूहले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रममा उहाँहरुले आ–आफ्ना चेतनामूलक सिर्जना वाचन गर्नुभयो । बेथानचोक गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र ग्रामिण विकास संस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले चुल्हो चौकोको चौघेरोबाट आमा दिदीमा चेतना पुगोस् भनेरै २५ वर्ष भन्दा माथिको उमेर समूहमा यस प्रकारको प्रतियोगिता गराईएको बताउनु भयो । समाजमा नारीको अवस्था कस्तो छ भन्ने कुरा सिर्जनामार्फत बुलन्दी मात्र भएको छैन, यसका लागि स्वःस्फुर्त चेतना पनि सञ्चारित भएको छ भन्नुभयो ।

       कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमको अध्यक्षता गर्नु भएकी बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले १३३ वर्ष अघिदेखि शुरु भएको यो दिवसले विभेदकारी व्यवहारलाई पर राख्दै नारी पुरुष बराबर हुन भन्ने सन्देश प्रवाह गरोस् भन्दै समाजमा नारीले दोश्रो दर्जामा जिउन बाध्य पारिने गतिविधि समुल अन्त्य गर्न महिला सक्षम हुन जरुरी रहेको औल्याउनु भयो । उहाँले सीप र स्वावलम्बन भए निणर्य क्षमतामा महिलाहरुको समान सहभागिता हुने भएकाले गाउँपालिकाले महिला स्वावलम्बनको पाटोलाई गम्भीरताका साथ अघि बढाइरहेको बताउनु भयो । आयआर्जन र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बेथानचोक गाउँपालिकाले महिलाहरुको लागि बहुपक्षीय गतिविधि गर्दै आएको र भावी दिनहरुमा पनि यसलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

       कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, २ का अध्यक्ष पुरुषोत्तम तिमिल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल ४ का अध्यक्ष कृष्ण तामाङ, विभिन्न वडाका सदस्यहरु, ग्रामिण विकास संस्थाका प्रतिनिधि, महांकाल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, नारी चेतना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, बेथानचोक नारी चेतना संस्थाका प्रतिनिधि,भुग्देउ महिला विकास संस्थाका प्रतिनिधि, ग्रामिण महिला तरकारी तथा फलफुल सहकारी संस्थाका प्रतिनिधि, बेथानकोचक गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, बेथानचोक प्रहरी चौकी इञ्चार्ज तथा स्थानीयको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्