राष्ट्रिय आविष्कार केन्द्रले २०८० साल भदौदेखि वीरगञ्ज कृषि औजार कारखानाले व्यावसायिक उत्पादन थाल्ने दाबी गरेको छ । केन्द्रका अध्यक्ष महावीर पुनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले सानो परिमाणमा मात्रै भए पनि कारखानाबाट उत्पादन थालिने बताए । ‘अबको ६ महिना भित्रमा सो कारखानाबाट थोरै मात्रामा भए पनि औजारहरु उत्पादन गर्न सुरु गरिने छ’ पुनले भनेका छन् ।गत असोजमा सरकारले कारखाना मर्मतको जिम्मा दिएयता केन्द्रले ७० प्रतिशत मेसिनको मर्मत गरेको छ । कारखाना व्यावसायिक रुपमा सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन केन्द्रले अफ्नो जीवनी प्रकाशित गर्ने र त्यसबाट आएको रकम पनि कारखानामा खर्चिने उनले बताएका छन् । भग्नावशेषमा परिणत कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा गत हप्ता पराम्परागत कृषि औजारहरु उत्पादन भएको थियो । पुनका अनुसार परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो लगायतका उपकरणहरु बनेका थिए ।
