बेथानचोक गाउँपालिकामा मसिंर २७ गते भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाउने १७ जनाका आफन्तलाई एकमुस्ट ८५ लाख रुपैयाँ हस्तान्तरण गरिएकोे छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललाई युनाईटेड इन्स्युरेन्सका कार्यकारी प्रमुख नवीन सुवेदीका तर्फबाट एकमुष्ट ८५ लाख रकम हस्तान्तरण गरिएको हो । बेथान्चोक गाउँपालिकाको च्यासिङ्गखर्कबाट पनौती आउँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा चालक सहित १७ जनाको निधन भएको थियो । काभ्रे पुण्यवती यातायात प्रालीका अध्यक्ष राजेश सुन्दर सैंजुले उक्त दुर्घटनाका घाइते मध्ये ३ जनाको अझै उपचार भइरहेको बताउनु भयो । जिल्ला समन्वय समिति प्रमुख दिपक गौतमले दुर्घटना न्यूनीकरण तथा चालक, सह चालकहरुलाई प्रशिक्षण गर्दै दुर्घटना न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै एकजुट भई सचेतना फैलाउनु पर्ने धारणा राख्नुभयो । बिमा बापत प्राप्त रकमलाई मृतकका आफन्तको खातामा पठाइने सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा बिमा कम्पनीका डेपुटी जनरल मेनेजर विनोद कसपाल, बनेपा शाखा प्रमुख जितलाल श्रेष्ठ, पुण्यवती यातायात प्रालीका अध्यक्ष राजेशसुन्दर सैँजु, कार्यालय प्रमुख शुभराज जोशी लगायतको सहभागिता रहेको थियो ।
