भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन आफुले पहल गरिरहेको बताउनुभएको छ । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ स्थापना दिवस तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकमा आर्थिक संकट देखिन थालेकोले त्यसको समाधानका लागि मन्त्रालयले समन्वय गरि कार्य सुरु गरेको बताउनुभयो । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरे, बागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार नारायण ज्ञवाली, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.वी उप्रेती, नेफ्m्स्कुनका अध्यक्ष परितोष पौडेल, प्रोस्कुन अध्यक्ष उद्धव सापकोटा, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, बनेपा न.पा वडा नं. ७ अध्यक्ष हिटरल शाक्य लगायत सहकारीकर्मी एवं सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत के.वी. लामा स्याङ्तानले संस्थाको गतिविधि र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । साढे ३० आना जग्गामा बनेको नवनिर्मित भवन १० करोड ६७ लाख लागतमा निर्माण सम्पन्न भएको हो । ३ सय ६५ दिन नै सन्ध्याकालीन सेवा प्रदान गरिरहेको बिन्धवासिनी सहकारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र मार्फत पुरस्कृत बनाउन सफल भएको भन्दै प्रमुख कार्यकारी अधिकृत के.वी लामालाई सम्मान पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा आइटी शाखाका राजेन्द्र श्रेष्ठ र संगीता हरिशरणलाई उत्कृष्ट कर्मचारी, भकुण्डे सेवा कार्यालयलाई उत्कृष्ट सेवा केन्द्रको रुपमा सम्मान गरिएको थियो । उत्कृष्ट शैक्षिक बाल बचतकर्ता, दलित शैक्षिक छात्रवृत्ति वितरण, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट समुह प्रत्यक्ष, उत्कृष्ट समुह लघुवित्तलाई सम्मान, असल ऋणी सदस्य सहुलियत परिचय पत्र वितरण, उत्कृष्ट एसईई सम्मान, कविता प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको कार्यक्रमको सञ्चालन संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो ।
