उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दीपक बहादुर सिंहले दिगो आर्थिक विकासमा उर्जाको महत्व रहेको बताउनुभएको छ । बागमती प्रदेशको दिगो विकासका लागि उर्जा विषयक दुई दिने कार्यशाला गोष्ठीको बिहिबार धुलिखेलमा उद्घाटन गर्दै मन्त्री सिंहले भ्रष्टाचारमुक्त, निस्वार्थ काम गरी परियोजनाहरुलाई पुरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बागमती प्रदेशका खानेपानी, सिँचाई तथा उर्जामन्त्री उद्धव थापाले उज्यालो बागमती प्रदेश बनाउने अभियानमा रहेको भन्दै ग्यास इन्धनलाई विस्थापित गर्दै विजुलीको प्रयोगमा जोड दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा प्रदेश सांसदहरु, विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंह, काठमाण्डौ विश्व विद्यालयका उपकुलपति डा. भोला थापा, निति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष होमनाथ चालिसे, गाउँपालिकाका अध्यक्षहरु, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्यान) का पदाधिकारीहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, आइएफसीका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।
इप्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न भएको दुइदिने गोष्ठीमा दिगो विकासका लागि उर्जाको महत्व, अवस्था, योजना, रणनितिका बारेमा विषय विज्ञहरुले आ आफ्नो प्रस्तुती दिनुभएको थियो ।
