बनेपा नगरपालिका वडा नं २ स्थित सिक्रे, घिमिरे गाउँमा आगलागी हुँदा २ वटा घर जलेर नष्ट भएको छ । फागुन ७ गते राति करिब ११ बजे स्थानीय दिपक घिमिरे र दिनेश घिमिरेको घरमा आगलागी भइ पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । स्थानीय, जनप्रतिनिधि, प्रहरी र बनेपा र धुलिखेल नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताइएको छ । रातिको ११ बजेबाट सुरु भएको आगो बिहानको २ बजे नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनु भयो ।
घरमा भएका अन्न (गहुँ, धान, मकै, तोरी), कृषि औजार, भुस्सा काट्ने मेसिन, कुटानी–पिसानी मेसिन, ट्याक्टर लगायत सामग्री जलेर नष्ट भएको घरधनी दिपक घिमिरेले बताउनुभयो । उनका अनुसार विधुतीय लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने आकलन गरिएको छ । माथिल्लो तलाबाट आगलागी भएको भएर मानवीय हुन नपाएको उहाँले बताउनु भयो । बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य र उप–प्रमुख बिमला सापकोटा दाहाल सोमबार बिहान घटनास्थल जानुभएको थियो । घटनास्थल पुगेर बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले नगरको कार्यविधि अनुसार पीडित परिवारलाई राहतको लागि १० हजार रुपैयाँ तत्कालै प्रदान गराइने बताउनु भयो ।
