बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा सेवा कार्यालय खोल्ने भएको छ । सरकारको अघिल्लो कार्यकालमा पनि यो विषय प्राथमिकतामा परेको थियो । तर, यस पटक सरकारले सबै जिल्लामा एकीकृत सेवा कार्यालय खेल्ने तयारीका लागि अध्ययन कार्यदल गठन गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा जिल्लामा एकीकृत सेवा संचालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा समिति गठन गरिएको हो ।
उनले आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयका सचिवलाई कार्यदलको सदस्य नियुक्त गर्नेछ । उक्त कार्यादलले अध्ययन गरेर मन्त्रिपरिषमा प्रतिवेदन बुझाएपछि सरकारले १३ वटै जिल्लामा आफ्ना कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने जनाएको छ । कार्यादलले प्रशासनिक खर्च, सेवा प्रवाहलगायत विषयलाई केन्द्रमा राखेर अध्ययन गर्ने र आवश्यकताका आधारमा सम्बन्धीत मन्त्रालयको मातहतमा रहने गरी कार्यालय खोल्ने सुझावसहित प्रतिवेदन पेस गर्ने उनले बताए । प्रदेश सरकारका योजना कार्यान्वयनमा भएका समस्या समाधानका प्रशासनिक काम हेटौंडा र काठमाडौंबाट मात्र हुँदा सेवाग्राहीहरू समस्यामा पर्दै आएकाले एकीकृत कार्यालय सञ्चालनको तयारी गरिएको उनले बताए ।त्यस्तै, मन्त्रिपरिषद्ले तामाङ र नेवार भाषालाई प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न गरेको निर्णयअनुसार कार्यान्वयनका लागि अध्ययन कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद बैठकले प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो । समितिको सदस्यमा प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, पर्यटन उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ छन । उक्त कार्यादलको सदस्य सचिवमा प्रदेश सरकारको एक सचिव रहनेछन् भने अर्का एक सदस्य सोही क्षेत्रका विज्ञ रहनेछन् । यसैबीच, प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त हुनुभएको छ । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
