काभ्रेमा सञ्चालन गरिएको वृहत खेलकुद महोत्सवको प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद गोकुल बास्कोटाले समापन गर्नुभएको छ । समापन कार्यक्रममा बागमती प्रदेश सांसद रत्न ढकाल, लक्ष्मण लम्साल, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिका नगर प्रुमख शान्ति रत्न शाक्य, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा र सम्बन्धित पालिकाका उपप्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममको सभापतित्व जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले गर्नुभएको थियो । प्रतिस्पर्धामा १ हजार ४ सय ९४ तथा मैत्रीपूर्ण प्रतिस्पर्धामा समेत गरी करिब ३ हजार खेलाडीहरुको सहभागिता रहेको थियो । १० वटा भन्दा धेरै विद्यामा सहभागि खेलाडीहरु मध्ये उत्कृष्ट हुनेले प्रमाणपत्र, शिल्ड सहित नगद पुरस्कार प्राप्त गरेका थिए, प्रथम, दोश्रो र तृतिय पुरस्कार क्रमशः ३० हजार, २० हजार, १० हजार राखिएको थियो ।
स्वास्थ्य राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै पालिकाका खेलाडीहरु महोत्सवमा सहभागि गराइएको थियो । महोत्सवमा पुरुष भलिबल खेलतर्फ जिल्लाको विकट स्थानमा रहेको महाभारत गाउँपालिकाले बाजी मारेको छ । त्यसैगरी दोस्रो खानीखोला गाउँपालिका र तेस्रो स्थानमा बनेपा नगरपालिकाले जित हाँसिल गरेको छ । त्यस्तै महिला भलिबलतर्फ नमोबुद्ध नगरपालिका प्रथम, बनेपा नगरपालिका दोस्रो र पनौती नगरपालिका तेस्रो भएको थियो । फुटबल प्रतियोगितामा पनौती नगरपालिका पहिलो, रोशी गाउँपालिका दोस्रो, खानीखोला गाउँपालिका तेस्रो भएको थियो । त्यस्तै कबड्डी प्रतियोगितामा महिलातर्फ पनौती नगरपालिका पहिलो, बनेपा नगरपालिका दोस्रो, पाचँखाल नगरपालिका र रोशी गाउँपालिका तेस्रो भएको छ । यस्तै एथ्लेटिक्स प्रतियोतिामा पाँचखाल नगरपालिका प्रथम, पनौती नगरपालिका दोस्रो र नमोबुद्ध नगरपालिका तेस्रो भए भने कराँतेतर्फ बनेपा नगरपालिका प्रथम, तेमाल गाउँपालिका दोस्रो, पाँचखाल नगरपालिका तेस्रो भएका थिए । तेक्वान्दो प्रतियोगितामा पनौती नगरपालिका प्रथम, बेथानचोक गाउँपालिका दोस्रो र धुलिखेल नगरपालिका तेस्रो भएका थिए । महोत्सवमा कपर्दी, डण्डिवियो, भलिबल, फुटबल, कराँतेका विभिन्न खेलहरु, हाईजम्प, लङजम्प, बुद्धिचाल, एथलेटिक्स लगायतका खेलहरु महोत्सवमा प्रतिस्पर्धामा थिए ।
