काभ्रेपलाञ्चोक जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. ले दुधको मुल्य वृद्धि नभएकोमा सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । बनेपामा पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ति जारी गर्दै संघले ध्यानाकर्षण गराएको हो । संघले दुधको मुल्य वृद्धि नहुँदा कृषकहरुमा निराशा र व्यवसायिक रुपमा घाटा भएको निष्कर्ष निकालेको छ । जारी बिज्ञप्तिमा काभ्रेपलाञ्चोक जिल्ला दुग्ध उत्पादनका दृष्टिले देशकै अग्रिणी स्थानमा रहेर राष्ट्रिय उत्पादनमा योगदान गरेको र २७२ सहकारी संस्थाहरु तथा निजी क्षेत्रका करिब ४०० संकलन केन्द्रहरुबाट संकलित दुध तथा दग्धजन्य पदार्थहरु जिल्लामा अवस्थित आधा दर्जन भन्दा बढि निजी डेरी उद्योगहरु, सरकारी स्वामित्वको दुध विकास संस्थान डि.डि.सि का झन्डै आधा दर्जन संकलन केन्द्रहरु तथा साना उद्योगीहरुबाट बजार पुर्याउन क्रियाशिल हुँदै आइरहेको र विगत देखि नै दुग्ध उत्पादनमा आत्मनिर्भर भइसकेको जिल्लाका १३ वटै स्थानिय निकायहरुबाट दैनिक करिब ३ लाख लिटर दुध उत्पादन तथा संकलन भई स्थानिय बजार, उपत्यकामा तथा देशका विभिन्न शहरमा आपूर्ति हुँदै दैनिक लगभग १८ करोडको हाराहारीमा शहरको पुँजी गाउँगाउँ पुर्याउँदै गरिब विपन्न किसानहरुको आय आर्जनमा टेवा पुर्याइरहेको जनाएको छ । त्यसैगरी सहकारी संघले जारी गरेको बिज्ञप्तिमा उत्पादन गर्ने कृषक र बजारीकरण गर्ने उद्योगीहरुको आ आफ्नो ठाउँमा योगदान अतुलनिय रहेको र पछिल्लो समय सबै प्रकारका उपभोग्य वस्तुहरुको मुल्य वृद्धि भएसँगै कृषकहरुले पशुवस्तुहरुलाई खुवाउने दाना, पिठो, पिना, ढुटो, चोकर घाँस, परालको मुल्य अत्याधिक पर्न गएकोले उत्पादित दुधको पनि मुल्य वृद्धि हुनुपर्नेमा संघले जोड दिएको छ । साथै लागत बढ्दा पशुपालन तथा दुध उत्पादनबाट कृषकहरु पलायन हुने अवस्था आएको जनाएको छ । तीनै तहका सरकार र सरोकारवालाहरु बसी अभिलम्व वार्ता तथा छलफल गरी आधिकारीक रुपले कृषकको हित हुने गरी मुल्य वृद्धि गर्न समेत आग्रह गरेको छ । संघले हाल गाईको दुध प्रतिलिटर ५४ रुपैयाँ र भैसीको दुध प्रतिलिटर ६५ रुपैयाँमा बिक्रि भएकोमा अब १० रुपैयाँको दरले बढाउन माग गरेको छ ।
