धुलिखेल नगरपालिकाले खानीपानी आयोजना व्यवस्थापनमा स्मार्ट वाटर प्रविधि लागु गर्ने भएको छ । स्मार्ट वाटर आइ सियुएच इन्सियोन प्रविधि लागु गर्न धुलिखेल नगरपालिका र इन्टरनेश्नल सेन्टर फर अरवान वाटर हाइड्रो इन्फोमेटिक्स रिसर्च, इनोभेसन दक्षिण कोरिया बीच त्रिपक्षीय सम्झौता भएको छ । नेपालकै पुरानो र पहिलो उपभोक्ता समिती मार्फत सञ्चालित धुलिखेल खानेपानी आयोजनालाई स्मार्ट बनाउने ध्येयका साथ परियोजना प्रारम्भ भएको कुरा नगर प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।
परियोजनाको प्रारम्भमा सम्भाव्यता अध्ययन गरिने जनाएको छ । अध्यनका आधारमा खानेपानीको महशुल संकलन, मिटर अटोमेटिक रिडिङ खानेपानीको पाइप चुहिएको पानी गएको, पानी प्राप्त भएको नभएको कति समय आयो गयो लगायतका कुराहरु डिजिटल प्रविधिबाट हेर्न सकिने छ । कोरियन प्रविधि अनुसार मर्मत सम्भार देखि अटोमेटिक मिटर रिडिङ गर्ने गरी डिजिटलाइज हुने व्यवस्था गरिने नगर प्रमुख ब्याञ्जुले भन्नुभयो । ८८ हजार अमेरिकी डलरको लगानीमा रहेको परियोजनाको सम्भाव्यता अध्यन गरिने र ३ वर्ष भित्र सकिने जनाएको छ । ५० प्रतिशत कोरियन सरकारले र ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने गरी गरिने छ । नगर विकास कोष स्मार्ट सोलुसन र खानेपानी मन्त्रालयको सहयोगमा परियोजना सम्पन्न हुने छ ।
