आज मिति २०७९ माघ २१ गते, शनिबारको दिन यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २४ औं वार्षिकोत्सव समारोह संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा होटल उग्रचण्डी एण्ड बैंक्वेट, बनेपामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष शान्ति ढकाल अधिकारी र संचालक माधवप्रसाद जोशी, जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विकास वादे, सञ्चालक सदस्य बालकृष्ण दाहाल, बनेपा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सचितानन्द के.सी., चण्डेश्वरी साकोसका अध्यक्ष नविनभक्त श्रेष्ठ लगायत विभिन्न संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का पूर्व अध्यक्ष तथा सहकारीविद् ऋषिराज घिमिरेलाई बुसा सहकारी साधना सम्मान–२०७९ समर्पण गरिएको थियो । सोही अवसरमा २०औं वार्षिकोत्सवमा सम्मान घोषणा गरिएको बुसा सहकारी साधना सम्मानबाट मरणोपरान्त स्व. भोजराज घिमिरेलाई सम्मानीत समेत गरियो । सो सम्मान उहाँको छोरा किरण घिमिरे ग्रहण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मिनराज कँडेलले सहकारी संस्थाका सञ्चालकहरुले शेयर सदस्यहरुको जीवन बदल्न सक्ने योजना निर्माण गरी अघि बढ्नु पर्ने धारणा राख्दै बुडोल सामुदायिक साकोसले उक्त कार्य गर्न सकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा आ.व. ०७८।०७९ मा उत्कृष्ट बालबचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरिदकर्ता सदस्यहरू, रक्तदाताहरू, संरक्षित पूँजी फिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने सदस्यहरू र उत्कृष्ट कर्मचारीलाई समेत नगद रकम सहित सम्मान गरिएको थियो । समारोहकै अवसर पारी संस्थाले यो वर्षदेखि शुरुवात गरेको बुसा शैक्षिक सम्मान कार्यक्रम अन्तर्गत २०७८ बैशाखदेखि २०७९ पुष मसान्तसम्ममा १०+२, स्नातक, स्नातकोत्तर र एम.फिल. तह उत्तीर्ण गर्ने २७ जनालाई सम्मानका साथै कलेज प्रथम १ जना सदस्यलाई नगदसहित सम्मान गरिएको छ । समारोहमा नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । साथै कार्यक्रममा बुडोल सामुदायिक साकोसले निर्माण गरेको सन्देशमूलक श्रव्यदृश्य भिडियो लोकार्पण गरिनुको साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायले १६ हजार ९४ शेयर सदस्यबाट आ.व. ०७८।०७९ मा १४ करोड ८७ लाख २९ हजार ९ सय शेयर पूजी संकलन, १ अर्ब ३२ करोड २१ लाख ८४ हजार ४ सय ८४ बचत निक्षेप संकलन, १ अर्ब ३३ करोड ५४ लाख ६४ हजार ९ सय ९२ ऋण लगानी गरेको जनाउनुभयो ।
संस्थाका सचिव जयराम थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रेमनाथ शर्मा कोइरालाले स्वागत मन्तव्य, प्रमुख सल्लाहकार रामहरि के.सीले शुभकामना मन्तव्य र अध्यक्ष कैलाश के.सी.ले धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
