धुलिखेल.८, बडालगाउँ स्थित बैरेनी खेतमा बँदेल पसेर खेतमा लगाएको आलु क्षति पुर्याएको छ । कृषक श्याम बहादुर भुजेलको बैरेनी खेतको दुईवटा गरामा लगाएको आलु बँदेलले जोत्दै उतारेर छरप्रष्ट पारेको बताउनुभयो । त्यस्तै गरी सोही गाउँका अर्का कृषक लिलानाथ सापकोटाको हरिथुम्की नजिकैको खेत र बारीमा लगाएको आलु बाली नष्ट गरिदिएको उल्लेख गर्नुभयो । खेत लगायत गाउँको मानव बस्तिमा समेत बँदेलहरु पसेर कृषकहरुले लगाएको कृषि उपजमा क्षति पुर्याएपछि किसानहरु निक्कै चिन्तामा परेका छन् ।
यस भेगमा अहिले सम्म जंगली जनावर बँदेलले भने बस्तीमा पसेर बाली नोक्सान नगरेको स्थानीय कृषकहरुको भनाई रहेको छ । बँदेलले कृषकहरुले लगाएको बालीनाली क्षति पुर्यायो डिभिजन वन कार्यालय धुलिखेल काभ्रेले कस्तो खालको सेवा पुर्याउन सक्छ भन्ने जिज्ञासामा डिभिजन वन कार्यालयको प्रमुख देवीचन्द्र पोखरेलले कृषकहरुले लगाएको बाली बँदेलले क्षति पुर्याएमा स्थानीय सरकारको सिफारीसमा बढिमा १० हजार सम्म प्रति किसानले क्षतिपूर्ति पाउने कानुनी व्यवस्था रहेको बताउनुभयो । वन्यजन्तुले बालीनाली नष्ट गर्दा काभ्रेमा गत वर्ष मात्र २७ लाख रकम किसानहरुलाई क्षतिपूर्ति दिएको र यसवर्ष पनि पनौती, नमोबुद्ध र बनेपा नगरपालिका क्षेत्र भित्रका ३ सय भन्दा बेसी कृषकहरुले वन्यजन्तुले बालीनाली नष्ट गरेको भनेर वन कार्यालयमा निवेदन राखेको जनाएको छ ।
