निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन मितिसहित कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका अनुसार फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिका लागि निर्वाचन हुनेछ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभा सदस्यहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेको र कार्यतालिका पनि सार्वजनिक गरेको जानकारी दिए । उनकाअनुसार सातै प्रदेशमा मतदान गर्ने गरी तयारी भए पनि अहिले सम्भव नहुने देखिएकोले काठमाडौंमै मतदान हुने गरी व्यवस्था मिलाइएको छ । मतदाता नामावली प्रकाशन फागुन १० गते हुनेछ भने दाबी, विरोध र उजुरीका काम त्यसपछि हुनेछन्। उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुने गरी आयोगले कार्यतालिका बनाएको छ । अन्तिम मतदाता नामावली भने फागुन १२ मा तय गरिएको छ ।
राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । उम्मेदवारीविरूद्ध उजुरी फागुन १४ मा दिन सकिनेछ । राष्ट्रपतिका लागि मतदान भने फागुन २५ गते हुनेछ । उपराष्ट्रपति चुनाव भने चैत ३ गते हुनेछ । मतदाता नामावली प्रकाशन लगायत काम राष्ट्रपति निर्वाचनकै कामलाई निरन्तरता दिइने आयोगको तयारी छ। उपराष्ट्रपतिका लागि मनोनयन दर्ता भने फागुन २७ गते हुने आयोगको कार्यतालिका छ । दलहरूले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तय गरिसकेका भने छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति खोजेर राष्ट्रपति निर्वाचन अघि बढाउन चाहेका छन् । तर सत्ता साझेदार नेकपा एमालेले आफूहरूले राष्ट्रपति पाउनुपर्ने अडान राखेको छ । गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा माओवादीले सहयोग गर्ने दाबी गरिरहेको छ । कांग्रेसभित्र नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम राष्ट्रपति उम्मेदवारका रूपमा चर्चामा छ । कांग्रेस पदाधिकारी बैठकले एक ढिक्का भई राष्ट्रपति निर्वाचनमा दरविलो भइ उभिने जनाएको छ ।
