काभ्रेपलान्चोक – नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी हेटौंडाको आयोजनामा रामेछापको मन्थली नगरपालिका वडा नं. १ मा यहीँ माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिताका लागि काभ्रेबाट पनि पुरुष भलिबल खेलाडीहरु छनोट गरिएको छ । खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य माथी हाम्रो सरोकार भन्ने मुल नाराको साथमा हुने लागेको नेकसो बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता २०७९ रामेछापमा हुन् लागेको हो । नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पशुराम बस्नेत, नेपाल खेलकुद महासंघ काभ्रेपलान्चोकका जिल्ला अध्यक्ष नवराज मानन्धर, काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष बिक्रम प्रजापति लगायतको टोलिले खेलाडीहरुको छनौट गर्नुभएको थियो ।
नेपाल खेलकुद महासंघ काभ्रेका अध्यक्ष नवराज मानन्धरले खेलाडीहरुलाई बिजयीको लागि शुभकामना दिदै खेलकुदको दिगो विकासका लागि सोच बनाईरहेको र हरेक क्षेत्रमा भईरहेका विविध प्रतियोगितामा नेपाल खेलकुद महासंघ काभ्रेको प्रतिनिधित्व हुने उल्लेख गर्नुभयो । जिल्ला भरिका १३ वटै स्थानीय तहबाट आएका खेलाडीलाई भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको नेपाल खेलकुद महासंघ काभ्रेले जनाएको छ । मानन्धरका अनुसार जिल्लाका १३ वटै स्थानीय तहबाट आएका खेलाडीको प्रतिस्पर्धा गराइ उत्कृष्ट भएका १८ जना खेलाडीहरु पहिलो चरण छनोट गरी उनीहरुकै टिम बनाइएको र त्यस टीममा अन्य तीन जना वैकल्पिक खेलाडी पनि राखिएको छ ।
नेपाल खेलकुद महासंघ काभ्रे र काभ्रे जिल्ला भलिबल संघका अनुसार सुरेश थिङ, कृष्ण खड्का, सागर केसी, राम श्रेष्ठ, एलिन आले मगर, प्रज्वल आले मगर, सुसान्त मगर, संस्कार थापा, रबिन मगर, मनराज आले मगर, रबिन श्रेष्ठ, उमेश राना, सुमन थोकर, सुधन मोक्तान, उत्तमराणा मगर, बेनि राना, वाङचु तितुङ र सरोज रुम्बा गरि पहिलो चरणमा १८ जना खेलाडी छनोट गरिएको छ भने दोश्रो चरण बाट १० जना खेलाडी माघ २ गते छनोट हुने बताइएको छ । भलिबल प्रतियोगितामा बागमती प्रदेश भित्र रहेका सबै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरि नेकसो बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा भाग लिन आउने छन् । जसका कारण काभ्रे बाट पनि १३ वटै पालिका बाट आएका पहिलो चरण बाट छनोट भएका १८ खेलाडीहरु मध्य उत्कृष्ट १० रामेछापमा खेल्न जानेछन् ।
