काभ्रे टाइम्सले २६ वर्षगाँठ पूरा गरी २७ वर्षको यात्रा थालनी गर्दैछ, यसका लागि काभ्रे टाइम्स परिवारलाई मंगलमय शुभकामना । नियमित स्तम्भकारको हिसाबले म निकै खुशीे छु । यो पटक पनि काभ्रे टाइम्सले ५० अंक प्रकाशनमा ल्याएर विश्वसनियता एवं निरन्तरता कायम गरेको छ । यसका लागि पनि बधाई दिन चाहन्छु ।
कोरोनाकहरले विश्वभरमा जस्तै नेपालका हरेक क्षेत्र पनि बौरिँदैछ । विगतमा कोभिड महामारीका बेला नेपालका ठूल्ठूला प्रकाशन गृहका सह–प्रकाशनहरु (हिमाल, नेपाल, कान्तिपुर साप्ताहिक, सम्पूर्ण आदि) छाप्नै बन्द गर्नुपर्ने अवस्था आउँदा पनि थोरै अनियमित सही काभ्रे टाइम्स भने प्रकाशनमा आई रह्यो । ती ठूल्ठूला प्रकाशन गृहहरुका सह–प्रकाशनहरु अहिले पनि प्रकाशनमा आउन सकेको छैन भने केही पत्रपत्रिकाहरु (हिमाल) सीमित एवं समयावधी बढाएर प्रकाशनमा आईरहेको छ । यस बीच काभ्रे टाइम्सले भने आफ्नो गति लिइ सकेको छ, जुन सुखद समाचार हो, पाठक, शुभ चिन्तक एवं स्तम्भकारको दृष्टिले ।
यो वर्ष काभ्रे टाइम्समा नियमित लेख्न सकिनँ तर जति लेखें समसामयिक विषय अर्थात् स्वास्थ्य समस्याहरुमा लेखें । स्तन क्यान्सर, मधु मेह, एड्स रोग, पोलियो एवं शताब्दी पुरुष सत्यमोहन जोशी विषयमा लेखें । पाठकहरुले पनि जिज्ञासा राख्ने गर्दछन् किनियमित रुपमा मेरा लेखहरु आईरहोस् भनेर । कति धेरै पाठकहरु भन्छन् ‘तपाईंको लेख नियमित पढ्ने गर्छु, जानकारी मूलक छ, कटिङ गरेर राखेको छु ।’ यी र यस्तै हुन् मेरा लागि पाठकहरुबाट हौसला अनि ढाडसका शब्दहरु । यी प्रतिक्रियाहरुबाट मैले समाजको लागि केही गरिरहेको छु भन्ने आभाष हुन्छ । र, फेरि कलम उठाउन कर लाग्छ, किबोर्डमा औंला चलाउन कर लाग्छ, निद्रा कटाएरै भएपनि, परिवारलाई दिनुपर्ने समय कटाएर भएपनि । लेखकका लागि पाठक अमूल्य सम्पत्ति हो ।
विगत केही वर्ष देखि काभे्र टाइम्सको वार्षिकोत्सव पारेर केही सुझाव दिने गरेको छु । तर ती सुझावहरु सुझावमै मात्र सीमित रहे, खासै कार्यान्वयन भएन । भो अब काभे्र टाइम्सलाई रंगीन कलेवरमा ल्याउनु पर्दैन । पेजहरु पनि बढाउनु पर्दैन । तर ...
तर कतिपय काभ्रे टाइम्सका सिग्नेचर सरिका कार्यहरुलाई भने निरन्तरता दिनै पर्दछ । एक – भरतराज पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइयोस् । दुई –सम्पादक आर एल श्रमजीवीको ‘महाभारतका चरित्रहरु ’शिर्षकमा गत कार्तिक प्रकाशनमा आए सँगै आगामी दिनमा अन्य स्तम्भकारहरुको पनि काभ्रे टाइम्समा प्रकाशित लेखहरुको सँगालो प्रकाशनमा ल्याउन मिल्छ कि ? तीन – कार्यकारी सम्पादक रमेश प्रसाद न्योपानेलाई सहज हुने गरि एकजना दह्रो सहयोगी चाहियो, जसले गर्दा पत्रिकाको गुणस्तरमा बढावा ल्याउन सकियोस् । काभ्रे टाइम्स अब त २७ वर्षको लक्काजवान भैसक्यो, सधैं भरि किन पुरातन ढर्रामा प्रकाशन गरि राख्ने, केही त नयाँ गरौं आगामी दिनमा ।
अन्त्यमा, फेरि एकपटक काभ्रे टाइम्स परिवारलाई यसको निरन्तरताको लागि बधाई छ । भिन्तुना ।
