राष्ट्रपति विद्यादेवि भण्डारीले समृद्ध नेपाल र सुखि नेपालीका लागि पर्यटन क्षेत्र प्रमुख आधार बन्न सक्ने बताउनुभएको छ । बनेपा नगरपालिका वडा नं. ४ स्थित नाला, भुइचालो डाडामा दश अवतार सहितको ब्रम्हा प्रतिमाको शनिबार उद्घाटन गर्दै उहाँले वातावरण मैत्री विकास गरी प्रकृति र मानव बिच सन्तुलन कायम राख्न सक्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद गोकुल बास्कोटाले जिल्लाकै गौरबको पर्यटकीय एवं धार्मिक क्षेत्र निर्माण भएकोमा स्थानीयहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । ९१ रोपनी सार्वजनिक जग्गामा संरचना तयार भएको विश्वको तेश्रो, नेपालको पहिलो दश अवतार सहितको ३० फिट अग्लो ब्रम्हा प्रतिमाको उद्घाटन कार्यक्रममा स्थानीयबासीहरुको बाक्लो उपस्थिती रहेको थियो । महादेव खोला ब्रम्हाणी क्षेत्र उत्तरगया समाजका अध्यक्ष पुरुषोत्तम सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव श्याम सापकोटाले गर्नुभएको थियो । दुई वर्ष अघि स्थानीयहरुले आफ्नै लगानीमा सुरु गरेको मन्दिरमा पुष २१ र २२ गते गरिएको प्राण प्रतिष्ठा पछि सर्वसाधरणका लागि मन्दिर खुल्ला गरिएको थियो । विश्वमै धार्मिक र सांस्कृतिक क्षेत्रका हिसाबले समेत थप परिचित बनाउने उदेश्यले अष्ट मातृका वरपर ब्रम्हाणी क्षेत्रमा ब्रम्हा मन्दिर निर्माण गरिएको महादेव खोला ब्रम्हाणी क्षेत्र उत्तरगया समाजका सचिव श्याम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार २०७१ साल मंसिर १४ गते तत्कालीन समितीले बृहत रुद्रायाग शैव महायज्ञ लगाउने कार्यमा ब्रम्हा प्रतिमा सहित विष्णु भगवानका दश अवतार बनाउने परिकल्पना २०७९ सालमा स्केच गररिएको थियो । यो योजनालाई गुरुयोजना सहित समावेश गरी महायज्ञ मार्फत कार्य योजना निर्माण गरी थप कार्य प्रारम्भ भएको थियो । पार्क सहितको दश अवतार भएका ब्रम्हाको ३० फिट अग्लो मुर्ति प्रतिस्थापनाका लागि स्थानीयहरुले १ करोड २० लाख नगद संकलन गरेका थिए । ब्रम्हा मन्दिरसँगै महादेव खोला परिसरमा मन्दिर , घाट तथा अन्य निर्माण कार्य समेत सम्पन्न भएको छ । उक्त क्षेत्रमा भ्यु टावर लगायतका अन्य संरचनाहरु तयार हुनेछन् ।
