प्रकाशकीय
काभ्रे जिल्लाको अग्रणी पत्रिका काभ्रे टाइम्स साप्ताहिक पत्रिका आज देखि २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षको आरोह अवरोह हाम्रा लागि गौरवमय बनेका छन् । काभ्रे नाम र माटो प्रतिको सर्मपणले काभ्रे टाइम्सलाई पीत पत्रकारिता र पार्टी पर्चाकारीता गर्न छुट छैन । यस पत्रिकाले आवाज विहिनहरुको आवाज बुलुन्द गर्नु छ । विचार र विवेक पु¥याएर नयाँलाई राजनीति , प्रशासन, शिक्षण, पत्रकारिता र सबै ठाउँमा नयाँ पुस्ताले नेतृत्व गर्नु पर्छ, पुराना पुस्ताले अभिभावकत्व ग्रहन गर्दै विना हिचकिचाहट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्छ भन्ने मान्यतामा हामीले नयाँ सम्पादक सम्यक् लुईटेललाई नियुक्त गरिएको हो ।
विश्व मानचित्रमा नेपाल सानो भएता पनि यसको सुन्दरता हावापानी अपार प्राकृतिक स्रोतलाई प्रयोग गर्न नसक्दा ,नजान्दा र अहिले सम्म प्रयोग नगरेकाले आजका दिन सम्म नेपाल अल्पविकसित राष्ट्रमा रही रहेको हो । अनादिकाल देखि स्वाधिन स्वालम्वन रहेको मुलुक मल्लकालिन सभ्यतामा बेलायतको हाराहारीमा थियो । शासक ,प्रशासकको वेवास्ता , लापरवाही भ्रष्टाचार कुशासनले आज मुलुक नव जवान निर्यात गरेर रेमिटान्स भित्र्याउने मुलुकमा परिभाषित भएको छ । युवालाई रोजगारी दिएर देशमै रोके मात्र देश देश जस्तो हुन्छ । राजनीतिमा फुटाउ र राज गर भन्ने राजकीय शिद्धान्तले नेपालको यो अवस्ता भएको हो । अझ विदेशीको ठाडो हस्तक्षेपका कारण सत्तामा देखिने शासक कठपुतली सावित भएका हुन् । अव त्यस्तो नहोस् । हुन गएमा निरन्तर खवरदारी हामी गर्छौ ।
काभ्रे टाइम्स २७ वर्ष प्रवेश गरेको उपलक्ष्यमा हामी हाम्रा सहकर्मी एवं सञ्चारकर्मीमा खुशी व्यक्त गर्दै हाम्रा विज्ञापनदाता आफन्त शुभचिन्तकमा हार्दिक शुभ–कामना साट्न चाहन्छौं ।
