अनु
१० औँ राष्ट्रिय पोल्ट्री दिवसको आइतबार मंगलटारमा समापन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमको प्रमुख आतिथ्यता एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलका प्रमुख राजकुमार हुमागाईँको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले अनुदान विना कृषिको विकास गर्न नसकिने भन्दै साना किसानहरुको हितका लागि राज्यले विशेष योजना बनाउनु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिमवहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमवहादुर वाइबा, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, कब नेपालका अध्यक्ष इश्वर शर्मा, पोल्ट्री व्यवसायी रविन्द्रराज सिपखान लगायतले पोल्ट्री व्यवसायको अवस्था र किसानहरुको समस्याका बारेमा चर्चा गर्दै दिगोपना दिनका लागि के–के हुन सक्छ भन्ने बारेमा आ–आफ्नो धारणा राख्नु भएको थियो । वि.सं. २०४० सालबाट शुरु भएको काभ्रेपलाञ्चोक जिल्लाको पोल्ट्रि व्यवसायमा लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसक्दा व्यवसायीहरू जोखिममा परेको सरोकारवालाहरूले गुनासो गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा बार्षिक ४ लाख ८० हजार कुखुरा उत्पादन , सोही कुखुराहरुबाट २८ हजार मेट्रिक टन मासु र ७ करोड ७० लाख गोटा अण्डा उत्पादन भएको पछिल्लो तथ्यांकमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख राजकुमार हुमागाईँले जानकारी दिनुभयो । पौष ११ देखि १७ गते सम्म मनाइएको सप्ताहव्यापी पोल्ट्रि दिवसको अवसर पारेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गर्भवति महिला, सामुदायिक विद्यालयका विद्यार्थीहरु र श्रमिकहरुलाई अण्डा वितरण गरेको थियो । सह–आयोजक संस्था पोल्ट्रि व्यवसायी मञ्च काभ्रेका सल्लाहकार मधुसूदन गुरागाईँले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भेटेरीनरी अस्पतालका अधिकृत उद्धव सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
