IMG-LOGO

नेपाल पुलिस स्कुल धरानले आइजीपी कप जित्यो

 मंगल, पौष १२, २०७९  --– हरिनाथ न्यौपाने  

             नेपाल पुलिस स्कुल साँगामा आयोजना भएको २८औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०७९ को उपाधि नेपाल पुलिस स्कूल धरानले जितेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा नेपाल पुलिस स्कुल धरानले लिटिल एन्जल्स स्कुल ललितपुरलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडीहरूलाई बधाई दिँदै विद्यालयको स्तरोन्नति तथा विकासका लागि विद्यालयहरूले शैक्षिक तथा अन्य गतिविधिहरूलाई समयानुकुल, परिष्कृत र परिमार्जित गर्दै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

             उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले  नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने नेपाल प्रहरी तथा आम नागरिकका सन्ततिहरूको उज्वल भविष्य निर्माणको लागि विद्यालयमा कार्यरत शिक्षक, प्रहरी तथा अन्य कर्मचारीहरूलाई संवेदनशील र दत्तचित भएर काम गर्नुपर्ने बताउनुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण साथै धन्यवाद ज्ञापन गर्दैे खेलाडीको पहिचान गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कुशलता प्रदर्शन गर्ने सक्ने क्षमतावान खेलाडिको विकास गर्न सहयोगी भूमिका खेल्दै आएको बताउनुभयो । काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान टीम प्रथम, लिटिल एन्जल्स स्कुल टीम द्वितिय र ल्याबरोटरी स्कुल टीम तृतीय भएका छन् । प्रथम हुने टिमले ५० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

             नेपाल पुलिस स्कुल साँगाका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले प्रतियोगिता सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । फाईनल खेलको म्यान अफ द म्याच नेपाल पुलिस स्कुल धरानका साहेब मन्सुरी, म्यान अफ दि सिरिज लिटिल एन्जल्सका भार्गव सिलवाल, हाइएस्ट स्कोरर नेपाल पुलिस स्कुल धरानका रोहन गुर्मइता, बेस्ट गोल किपर लिटिल एन्जल्सका रोजिन सलजु र फेयर प्ले अवार्ड नेपाल पुलिस स्कुल साँगा टिम ए घोषित भए  । मंसिर २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान, सैनिक आवासीय मावि लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६  टीमको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्