नेपाल पत्रकार महासंघ काभ्रे शाखाको ३० औँ स्थापना दिवस तथा वर्षिक साधारण सभा केन्द्रीय अध्यक्ष बिपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । शाखा अध्यक्ष बद्रिराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रमको धन्यवाद ज्ञापन शाखा उपाध्यक्ष विनोद न्यौपानेले गर्नुभयो । केन्द्रीय अध्यक्ष विपुल पोखरेलले देशको विकास र समृद्धिको यात्रालाई टुङ्गोमा पु¥याउन नवनिर्वाचित जनप्रतिनिधि लाग्नु पर्ने बताउँदै लोकतान्त्रिक गणतन्त्रको नाम भजाएर देशलाई सधैँ अस्थीरताको बाटोमा लाग्ने छुट राजनीतिक दललाई नभएको उल्लेख गर्नुभयो । देशको सम्मुनति विकास उत्पादनमा आत्मनिर्भर बनाउन, सुशासन, शान्ति, अमनचयन र भ्रष्टाचारको निर्मुल पार्न नसके सम्म मुलुकको समृद्धि दिवा सपना भएको तर्क केन्द्रीय अध्यक्ष पोखरेलले गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रलार्य अहरणीय बनाउने कार्य र जनतालाई आशा र उत्साह जगाउने कार्य सञ्चार जगतले गर्ने कुरा केन्द्रीय अध्यक्ष पोखरेलले थप स्पष्ट पार्नुभयो । काभ्रे प्रतिनिधि सभा सदस्य सुर्यमान दोङले जनताको अभिमतले जिम्मेवारी दिएको हुँदा देशको आर्थिक, सामाजिक रुपान्तरण गरी मुलुकलाई समृद्धिको पथमा लग्न सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने धारणा राख्नु भयो । प्रदेश सांसद तिर्थ लामाले मुलुकको बृहत्तर हितको लागि नेपाली कांग्रेस संधै लागि परेको उल्लेख गर्दै सञ्चारकर्मीहरुले यो वा त्यो कित्तामा नउभिई सञ्चार क्षेत्रको गरिमालाई जोगाइ सत्य तथ्य सूचना प्रवाह गर्नु पर्ने धारणा राख्नु भयो ।
वागमती प्रदेशका अर्का सांसद लक्ष्मण लम्सालले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उत्पादनलाई उद्योगसँग जोड्ने रोजगारीको श्रृजना गर्ने कार्य नगरे सम्म भासणले मात्र देश बन्न नसक्ने उल्लेख गर्दै सञ्चारकर्मीहरुले नैतिक आचरणलाई ख्याल गरेर सञ्चार जगतको मर्यादालाई नभुली कार्य गर्नु पर्ने कुरा बताउनुभयो । कार्यक्रममा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ सांसद रत्न ढकाल, काठमाण्डौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक गौतम, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, महासचिव कृष्ण शारु मगर, सहायक प्रजिअ अमरदिप सुनुवार लगायतको आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोला थापा, प्रेस यूनियन काभ्रे अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी काभ्रे अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाई, नेपाल आदीवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेश इन्चार्ज पेमा लामा लगायतले मन्तव्य राख्नु भएको थियो । काभ्रे प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधि र निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने जिल्लाका सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मीका प्रमुख लगायतलाई सम्मान गरी प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै गरी बनेपा हेल्थ केयरले सञ्चरकर्मीलाई औषधी खरिदमा १० प्रतिशत छुट स्वास्थ्य परीक्षणमा २० प्रतिशतको छुटको लागि नेपाल पत्रकार महासंघ काभ्रे सँग सम्झौता गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे सचिव कपील कोइरालाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष केदारनाथ तिमल्सिनाले आ.व. ०७७÷०७८ र ०७८÷०७९ को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
