धुलिखेल, शैक्षिक विकासको गुणस्तरीयता प्रदानको सवालमा एक ईंटा थप्न सफल काठमाण्डौ युनिभर्सिटी हाईस्कुल चौकोटले आफ्नो रजत महोत्सव शुभारम्भ समारोह शनिबार सम्पन्न गरेको छ । २५ वर्ष प्रवेशको रजत महोत्सवमा शैक्षिक धरोहर तथा काठमाण्डौ विश्व विद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, धुलिखेल नगरपालिका पूर्व नगर प्रमुख बेल प्रसाद श्रेष्ठ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रा.डा. राजेन्द्र्र प्रसाद श्रेष्ठ, उद्योग वाणीज्य संघ बागमती प्रदेशको अध्यक्ष दिल सुन्दर श्रेष्ठ लगायत विउ रकम प्रदान गर्ने चन्दादाताहरुलाई सम्मानित गरेको छ । प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व प्रधानन्यायाधीश एवं पूर्व मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले काठमाण्डौ विश्व विद्यालय हाइस्कूलले विद्यार्थीहरुको श्रृजनशिलताको विकास, सकारात्मक सोच, भाषा संस्कृति संस्कार, पहिचान, विद्यार्थीहरुको रुचिअनुसारको देशकै लागि जनशक्ति उत्पादन गर्न सफल भएकोमा विद्यालय व्यवस्थापन टिम, शिक्षक वर्ग सवैलाई धन्यवाद दिदै दशकै नमुना विद्यालय बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
आफूलाई नै विर्सेर विदेशी नक्कल गरी देशको भाषा संस्कृति विगार्न नहुने तर्क गर्दै प्रमुख अतिथि रेग्मीले नैतिक आचरण, चारित्रिक निर्माण, सहितको सभ्य समाज निर्माणको लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने भएकाले त्यता तिर ध्यान दिनुपर्ने सुझाउनुभयो । राजनीतिक बेथिति विसंगतिले मुलुकलाई पछाडि तिर धकेलेको, भ्रष्टाचार बढ्दै जानु, जनताहरुले भरोषा गर्न छाड्नु भनेको देशको लागि घातक हुने हुँदा बेलैमा जनपक्षीय कार्य गरी देशमा सुशासन कायम गर्न तिर राजनीतिक नेतृत्व चनाखो रहनु पर्ने धारणा पूर्व मन्त्री परीषदका अध्यक्ष खिलराज रेग्मीले भनाई राख्नु भयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रा.डा. लक्षमण ज्ञावलीको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक नारद कुमार रिजालबाट स्वागत मन्तव्य ,प्रिन्सिपल तेजेन्द्र प्रकाशराज भण्डरीले शैक्षिक क्षेत्रको विद्यालयको प्रगति विवरण प्रस्तुत, धन्यवाद ज्ञापन विद्यालयका सेकेण्डरी कोअर्डिनेटर निभा श्रेष्ठले र कार्यक्रमको सञ्चालन नेपाली विषय विभाग प्रमुख शिक्षक परशुराम अधिकारीले गर्नुभएको थियो ।
त्यस्तै गरी धर्म संस्कृति रितिरिवाज संस्कारलाई जोगाई राख्न विद्यार्थीहरुले स्वस्तीक बाचन र विभिन्न जातजातिका नृत्य झाँकीहरु प्रस्तुत गरेका थिए । स्वस्तीक बाचनमा शिक्षक रामहरि दाहाल र सांस्कृतिक प्रस्तुतीमा मोहन तौजले र सजिना श्रेष्ठले सहजीकरण गर्नभएको थियो । कार्यक्रममा कक्षा ११ का अब्बल छात्रा–छात्रहरु हर्षदा थापालाई ‘सुरेशराज शर्मा छात्रवृत्ति’ र संयोग सुवेदीलाई भाइस चान्सलर छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा काठमाण्डौ विश्व विद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डे लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।
