कतार÷आइतबार विश्वकप २०२२ को भव्य उद्घाटन भएको छ । कतारस्थित अल बायत स्टेडियममा कतारी संस्कृति सहितको प्रस्तुती गर्दै उद्घाटन भएको थियो । समारोहमा कतारका राजा शेख तामिम बिन हमाद अल थानीले सम्बोधन गर्दै कतार विश्वकप २०२२ को औपचारिक उद्घाटन गरेका थिए । त्यसअघि, हलिवुडका कलाकार मोर्गेन फ्रिम्यानले आशा, एकता र धैर्यताबारे बोलेका थिए भने कोरियन गायक जंग कुकले आफ्नो प्रस्तुति दिएका थिए ।
विश्वकपका लागि कतारले १२ वर्ष अघिदेखि पुर्वाधार लगायत तयारी सुरु गरेको थियो । विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ । उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधिको जडान गरिएको छ । यो फुटबल विश्वकप पहिलो पटक मध्यपूर्वले आयोजना गरेको हो । कतारका ८ वटा रंगशालामा यस प्रतियोगिताका ६४ खेल आयोजना हुने छन् ।
