लोकतान्त्रिक -बाम गठबन्धनको तर्फबाट काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार शिवप्रसाद हुमागाईँले संविधान निर्माण र रक्षाको लागि तरुणहरूको भूमिका अतुलनीय हुने बताउनु भएको छ । नेपाल तरुण दलले शनिबार बनेपामा आयोजना गरेको तरुण युवा विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘अमुक व्यक्ति’ को कारण काभ्रेलीलाई लागेको दाग यो निर्वाचनबाट पखालिने बताउनुभयो । युवाहरूको योगदानले नै मुलुकमा संविधान आएको भन्दै उहाँले यसको रक्षा गर्न पनि युवाहरू लागि पर्नुपर्ने उल्लेख गर्नुभयो । बनेपा-नाला भक्तपुर सडक, दाप्चा-पनौती-लामाटार-लुभु सडक कालोपत्रे आफूले सुरुवात गरेको, २०५६ सालमा आफू निर्वाचित भएपछि सुरु गरेको काभ्रे एकीकृत खानेपानी आयोजना सम्पन्न गरेर खानेपानी खुवाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिपाघाटको पुल, कोशिपारीको पुल, नौविसे फाँट, मल्पी -लिलावती, सिपाघाट सिंचाई आफ्नो कार्यकालमा सुरु गरेको भन्दै उहाँले सूचना प्रविधि (आइटी) पार्क, बनेपा बहुप्राविधिक महाविद्यालय आफ्नो नेतृत्वमा सुरुवात भएको उल्लेख गर्नुभयो । हुमागाईले आगामी मंसिर ४ को निर्वाचनमा हरेक बुथको सुरक्षाका लागि एक बुथ २० युथ राख्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा क्षेत्र नं २ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार कञ्चनचन्द्र बादले युवाहरूलाई उचित मुल्याकंनसहित भूमिका दिइने बताउनुभयो । कार्यक्रममा कांग्रेसका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, प्रदेश सभा समानुपातिक उम्मेदवार सुरकृष्ण वैद्य, तरुण दल काभ्रेका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला सदस्य राम जोशी, निर्वाचनको केन्द्रीय प्रतिनिधि सुधीर वैद्य, तरुण दल बनेपाका सभापति विजेन रञ्जित लगायतले निर्वाचनमा तरुणहरूको महत्वपूणर् योगदान हुने भन्दै सोही अनुसार परिचालन गर्न नेतृत्वलाई अनुरोध गर्नु भएको थियो । तरुण विभागका निवर्तमान केन्द्रीय सदस्य सुनिल बैद्यको सभापत्विमा सम्पन्न कार्यक्रममा विजेन्द्र रंजितले स्वागत मन्तव्य राख्नु भएको थियो भने तरुण नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
