६७ औँ प्रहरी दिवस सोमाबार जिल्ला प्रहरी कार्यालय काभ्रेको परिसरमा मनाइएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रहरी उपरीक्षक चक्रराज जोशीले स्वागत मन्तव्यका साथै प्रहरी दिवसको अवसरमा प्रहरी महानिरिक्षकले पठाउनु भएको सन्देश बाचन गर्नुभएको थियो । दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले रक्तदान, धार्मिक स्थलहरुको सरसफाई, फलफुलका विरुवाको वृक्षरोपण, वृहत स्वास्थ्य शिविर, जनचेतनामुलक वृत्त चित्र प्रदर्शन, खुल्ला व्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता सम्पन्न गरेको थियो । अमर प्रहरी परिवारका आश्रीत परिवारलाई सम्मान गरिएको कार्यक्रममा विजयी खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल वितरण, प्रहरीलाई सहयोग पु¥याउने व्यक्तिहरुलाई कदरपत्र वितरण गरियो । प्रहरी बरिष्ठ उपरिक्षक लालमणि आचार्यले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा पूर्व प्रहरी संगठन काभ्रेका सचिव मनोरथ आचार्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायत जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले गर्नुभएको थियो ।
