युएम बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ११ औँ वार्षिक साधारण सभाले लक्ष्मी नारायण श्रेष्ठलाई अध्यक्षतामा निर्वाचित गरेको छ । संस्थाको रिक्त रहेको पदहरुमा सञ्चालक सदस्यमा सोमकाजी शाक्य त्यस्तै गरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रिना मानन्धर निर्वाचित हुनुभएको छ । संस्थाको साधारण सभा गत भाद्र २५ गतेबाट शुरुवात भई असोज २ गते सम्पन्न भएको थियो । काभ्रे जिल्ला र सिन्धुपाल्चोक जिल्ला कार्य क्षेत्र रही ९ वटा सेवा कार्यालयबाट शेयर सदस्यहरुलाई सेवा सुविधा उपलब्ध गराएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रुशन श्रेष्ठले बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत रुशन श्रेष्ठले सहकारी ऐन, नियम मापदण्ड, आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी शेयर सदस्यहरुलाई स्वरोजगारीको निर्माण, उद्यमशिलताको विकास, महिला सक्तिकरण , नेतृत्व विकास जस्ता कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गरेको उल्लेख गर्नुभयो । एटीएम सेवा, कषि तथा पशुपालन व्यवसाय सञ्चालनको लागि ऋण प्रवाह गर्दै आएको छ ।
स्थायि कर्मचारी ४६ र करार ३४ गरी ८० जना रहको र सहकारीको आफ्नै भवन केन्द्रीय कार्यालय बनेपाबाट शेयर सदस्यहरुको बृहत्तर आर्थिक हितमा कार्य गरेको कुरा संस्थाकी मानव संसाधन तथा परामर्श विभाग प्रमुख चण्डीका वाग्लेले बताउनुभयो । बनेपा, पाँचखाल, पनौती, भकुण्डे, चोतारा, बाह्रविसे, खाडीचौर, सिपाघाट र मेलम्चीमा सेवा कार्यालय सञ्चालन गरी शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरेको छ । जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाकी उपाध्यक्ष रामदेवी श्रेष्ठले स्वागत मन्तव्य दिनुभयो । प्रमुख अतिथि गौतमले सहकारी संस्थाहरुले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एक खम्बाको रुपमा कार्य गर्दै आएको र शहरका सहकारीहरुले व्यवसायमा जग्गा खरिदमा वेसी लगानी गरेकोले त्यसमा सुधार गरी उत्पादनशिल क्षेत्रमा लगानी गरेर रोजगारीको श्रृजना गर्नुपर्ने धारणा राख्नुभयो । प्रमुख अतिथि गौतमले भन्नुभयो ।
सहकारीहरुले कर्मचारीहरुलाई खुसी हुने गरी उचित पारीश्रमिक दिन नसकेकोले सहकारी गुणात्मक रुपमा सञ्चालन हुन नसकेको धारणा राख्नुभयो । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि का अध्यक्ष जीतेन्द्र नकर्मीले सहकारी संस्थाहरुको संख्यात्मक बृद्धि सँगै स्थायित्व र दिगो विकासमा नियमन निकायहरुको ध्यान केन्द्रीत हुनुपर्ने र सञ्चालकहरुले आर्थिक अनुशासन कायम गरी सुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी लगायतले आर्थिक क्षेत्रको गतिविधिमा सहकारी क्षेत्रले पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । ५ करोड ३८ लाख कुल शेयर पूँजी भएको संस्थाले ७६ करोड २७ लाख ५८ हजार ऋण लगानी गरेको छ । नगद तथा बैँक मौज्दात ५ करोड ८७ लाख १ हजार ९ सय रहेको जनाएको छ । संस्थाका अध्यक्ष रामशरण श्रेष्ठले सभापतित्व गर्नुभएको थियो ।
