काभ्रे अक्षरमार्गले संस्कृति, शिक्षा र साहित्यका त्रिवेणी ज्ञानकाजी मानन्धर नामक पुस्तक प्रकाशन गरेको छ । सो पुस्तकको लोकापणर् एक समारोह बीच आज पनौतीमा भएको छ । नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषा गरी तीन ओटा भाषामा संस्कृति, साहित्य सिर्जना गरेर भाषा र साहित्यको विकासमा उल्लेखनीय भूमिका खेल्दै आएका सर्जक ज्ञानकाजी मानन्धरले नेपाली संस्कृति, परम्परा, इतिहास आदिका क्षेत्रमा कलम चलाएर ती क्षेत्रमा पनि अतुलनीय योगदान गरेका व्यक्ति हुन् । शिक्षाक्षेत्रमा समेत उल्लेखनीय अक्षरकर्म गर्दै आएका उनको अक्षरकर्मलाई अक्षरबद्ध गर्दै भावी पुस्तालाई समेत प्रेरणा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको विचार कार्यक्रममा पुस्तकका सम्पादक सूर्य लाकोजूले बताएका छन् ।
कार्यक्रममा पुस्तकका नायक ज्ञानकाजी मानन्धरले सूर्यको प्रकाश आफ्नै लागि होइन, अरुका लागि हो । त्यसैले अरुका लागि काम गर्नु पर्ने विचार व्यत्तः गर्नु भयो । सोही कार्यक्रममा साहित्यकार मोहन दुवालले ज्ञानकाजी मानन्धरको व्यक्तित्वका बारेमा प्रकाश पार्दै असल कर्म गरेको व्यक्तिको रुपमा स्मरण गरेका छन् । डा. श्याम भट्टराईले पुस्तकका बारेमा समिक्षात्मक टिप्पणी गर्दै पुस्तक पठनीय रहेको र ज्ञानकाजी मानन्धरका बारेमा जानकारी प्रदान गर्ने खालको पुस्तक बनेको विचार व्यक्त गरे । त्यस्तै कार्यक्रममा आरके मानन्धरले असल व्यक्ति भएकै कारण ज्ञानकाजी मानन्धरका बारेमा यस प्रकारको पुस्तक प्रकाशन भएको विचार व्यक्त गरे ।
राजनैतिक चिन्तक तथा सामाजसेवी मधु आचार्यले पुस्तक प्रकाशनका लागि अक्षरमार्गले सही पात्र चयन गरेको विचार पोखे । ज्ञानकाजी मानन्धरकी नातिनी श्रीया मानन्धरले संचालन गरेको कार्यक्रमका सभापति अक्षरमार्गका सम्पादक तथा साहित्यकार सूर्य लाकोजू थिए । अक्षरमार्गले प्रकाशन गरेको सो पुस्तकका सम्पादक सूर्य लाकोजू रहेका छन् । आवरण कला श्रीया मानन्धरको रहेको छ । पुस्तक विविध आठ खण्डमा विभक्त रहेको छ ।
