गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीलाई परिष्कृत र आवश्यकता अनुसार नयाँ प्रविधि र साधन श्रोत सम्पन्न बनाउने योजना साकार हुँदै गएको बताउनु भएको छ । नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान केन्द्रको पनौती नगरपालिकामा भूमि पूजापछि आयोजित समारोहमा बोल्दै मन्त्री खाँणले भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने लागेको प्रतिष्ठानले दुई देश बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत नेपाल बीचकोे सम्बन्धलाई परियोजनाले थप बलियो बनाएको बताउनुभयो । सन् २०२५ जुलाई महिना भित्र सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको परियोजनाको लागत १० अर्ब १५ करोड रुपियाँ रहेको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी सहकुल थापा, अन्य एआइजीहरु, डिआईजीहरु, जनप्रतिनिधिहरु, सरकारी उच्च पदस्थ कर्मचारीहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
