प्रकृति रिसोर्सेस् सेन्टरको आयोजना, टेवाको सहकार्यमा जलवायु–न्याय र लैङ्गिकता विषयक २ दिने तालिम काठमाण्डौँ धापाखेलमा शुक्रबार सम्पन्न भएको छ । तालिममा सेन्टरका कार्यक्रम निर्देशक प्रविणमान सिं ले जलवायु परिवर्तनका कारण भइरहेका असमानता, जलवायु परिवर्तनका सूचकहरुका बारेमा जानकारी दिनुभयो भने नेपाल सरकारका सहसचिव डा. राधा वाग्लेले जलवायु परिवर्तन सम्बन्धि लैङ्गिक तथा सामाजिक समावेशिकरण रणनीति तथा कार्ययोजना (२०७७–२०८७) का बारेमा प्रशिक्षित गराउनु भएको थियो । प्रकृति रिसोर्सेस् सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीले जलवायु परिवर्तनमा आर्थिक क्षेत्रको महत्व÷प्रभाव, कार्यक्रम संयोजक प्रदिप भट्टराईले न्यून–कार्वन विकासमा लैङ्गिक विषय, सेन्टरका कार्यक्रम अधिकृत प्रज्ञा शेरचनले अनुकुलन कार्यहरुमा लैङ्गिक मुल प्रवाहिकरण, अधिवक्ता इन्दिरा श्रीस मगरले विकास र जलवायु परियोजनाहरुको जवाफदेहीताका बारेमा अन्तरकृयात्मक ढङ्गले प्रशिक्षण गराउनुभयो । इलाम, काठमाण्डौँ, काभ्रे, झापा, धादिङ, दाङ, बर्दियाबाट २९ जनाको तालिममा सहभागिता रहेको थियो । सहभागिहरुले तालिम पश्चात जलवायु परिवर्तनको बारेमा आ–आफ्नो ठाउँमा गएर सचेतना फैलाउने प्रतिवद्धता समेत जनाएका छन् ।
