बनेपा, अजिमा बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १५ औँ वार्षिक साधारण सभा संस्थाका सल्लाहकार हरिभक्त भोछिभोयाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । संस्थाका सल्लाहकार बालभक्त प्रधानले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा जेष्ठ सदस्य रामेश्वर मकै श्रेष्ठ, सल्लाहकार सदस्य बुद्धरत्न मानन्धर, कानुनी सल्लाहकार ओमकाजी प्रजापति लगायतको आतिथ्यता रहेको थियो । संस्थाका सचिव शोकसुधार भैलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष इभा श्रेष्ठले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक पूर्णकाजी शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । उत्कृष्ट जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट बालबचत कर्तालाई सम्मान गरिएको थियो । १ करोड ७२ लाख ४६ हजार शेयर पुँजी रहेको संस्थाको जगेडा कोष २० लाख ७४ हजार ८ सय ८१ रहेको छ । संस्थाको आम्दानी २ करोड ४६ लाख ३२ हजार ६ सय १२ रहेको छ । संस्थाकी प्रवन्धक सुभद्रा श्रेष्ठले अजिमा बचत तथा ऋण सहकारी संस्थाले नीति विधि र उच्च प्रविधिको प्रयोग गरी सदस्यहरुको आर्थिक उन्नतीमा सहयोग पु¥याएको बताउनुभयो । संस्थाका अध्यक्ष निरञ्जन जस्पाउले सहकारी संस्थाले शेयर सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक आवश्यकता परिपूर्ति गर्न सक्नु पर्ने कुरा राख्दै सो गराउन अजिमा साकोस निरन्तर लागि परेको बताउनुभयो ।
