पनौती, ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती–६ को २३ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा मंगलबार सम्पन्न भयो । राष्ट्रिय सहकारी बैँकका अध्यक्ष के.पि उप्रेतिले उद्घाटनको क्रममा बोल्दै देशभरीको १६ हजार सहकारीहरुले राष्ट्रिय सहकारी बैँकमा वित्तीय कारोवार गरेको उल्लेख गर्दै ५ प्रतिशत भन्दा कम तरलता भएका सहकारीहरुलाई मद्धत गर्न आर्थिक सहायता ऋण प्रवाह गरेको बताउनु भयो । सहकारीहरुको दिगो विकास हुन सुशासन पारदर्शीता ढङ्गबाट सञ्चालन हुनुपर्छ । अनि मात्र शेयर सदस्यहरुको वृहत्तर आर्थिक हित हुन सक्ने कुरा राष्ट्रिय सहकारी बैँकका अध्यक्ष उप्रेतीले राख्नुभयो । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले नगरले सहकारी मैत्री नीति अवलम्बन गरेको र सदस्यहरुको जीवनस्तरमा साँच्चै परिवर्तन गर्न सहकारीहरुले उद्यमशिलता, उत्पादनशिल क्षेत्रमा लगानी बढाएर सहकारीहरुको सुनिश्चितता गर्नु पर्ने धारणा राख्नुभयो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ महा–सचिव जिवसराज खडका लगायतले मन्तव्य राख्नु भएको थियो । जिल्ला सहकारी संघ काभ्रेको अध्यक्ष दिलिप शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका सचिवको प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष पूर्णराम तुलाघरले आ.व. ०७८÷०७९ लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समितिको संयोजक भिमसेन केसीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १४ हजार शेयर सदस्य भएको संस्थाको शेयर पूँजी ९ करोड ५४ लाख ४ सय शेयर पुँजी संकलन , ६८ करोड ८९ लाख ७९ हजार ३ सय ८३ बचत निक्षेप संकलन, ७४ करोड ९३ लाख ५० हजार ९ सय १९ ऋण लगानी गरी २ करोड ५७ लाख ३९ हजार ९ सय २ खुद मुनाफा कमाउन सफल भएको छ । कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा एवं सञ्चारकर्मी काभ्रेपलाञ्चोक जिल्ला बचत संघका सञ्चालक रमेश प्रसाद न्यौपाने, सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । पशुविमा, ऋणीहरुको ऋण विमा, सदस्यहरुको लागि आर्थिक राहतका कार्यक्रमहरु सञ्चालन गरी सदस्यहितको कार्य गरी संस्था लोकप्रिय बनेको छ ।
