पाँचौ काभ्रे महोत्सव २०७९ हिजोबाट बनेपामा सुरु भएको छ । वागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले महोत्सवको उद्घाटन गर्नु हुँदै पाँचखालमा निर्मित विशेष आर्थिक क्षेत्र (सेज) लाई तत्काल पुरा गरी विकासलाई तिव्रता दिइने उल्लेख गर्नुभयो । उद्योगमैत्री वातावरण तयार पार्न आफू तयार रहेको भन्दै उहाँले तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष त्रय अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ, रामचन्द्र साघांईले महोत्सव सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उग्रेश्वर मन्दिर परिसर बनेपामा आयोजित उद्घाटन कार्यक्रममा काभ्रे महोत्सव स्मारिका पुस्तकको विमोचन गरिएको थियो । व्यवसायीक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव असोज १५ गतेसम्म चल्नेछ । महोत्सवमा १ सय ९ वटा स्टल रहेका छन् भने महोत्वस अवधिभर १ करोड बराबरको कारोवार हुने संघको अनुमान रहेको छ । उक्त अवसरमा विद्यालयस्तरीय नृत्य प्रतियोगिता, हरेक दिन राष्ट्रिस्तरका कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । मेला मुल आयोजक समितिका संयोजक एवं काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष ग्रोवेन तौजलेले गर्नुभएको थियो ।
