नमोबुद्ध नगरपालिकामा स्थानीय तह निर्वाचन पश्चात् आएका जनप्रतिनिधिले निर्वाचित भएको एक सय दिनको अवसरमा गरेका उल्लेखनीय प्रयास तथा सुरुवात गरेका कार्यहरु सार्वजनिक गरेका छन् । आइतबार जनताको सेवामा १०० दिन र सञ्चारकर्मी भेटघाट कार्यक्रममा नगरप्रमुख कुनसाङ लामाले ४३ वटा महत्वपूर्ण कार्यको सुरुवात र प्रयास भईरहेको जानकारी गराउनुभयो । नगरपालिकाले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा, बृद्धभत्ता वितरणमा घुम्ती बैंकिङ सेवा, स्थिर पुँजी ५ लाखसम्म भएका साना उद्योग तथा महिलाको मात्रै स्वामित्व रहने उद्योग दर्तामा लाग्ने शुल्क छुटदेखि बजार सरसफाई, विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरिएको कामहरु सार्वजनिक गरिएको छ ।
जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा नगरपालिकाले ध्यान दिएको र आफूहरुको चुनावी प्रतिवद्धता अनुसारका काम थालिएको बताए । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रको विकासका लागि योजनावद्धरुपमा काम गरिएको उनले बताए । सबै वडामा शिक्षा समिति गठन गरिएको र शिक्षाको गुणस्तर विकासमा विशेष ध्यान दिइएको लामाले बताए । दाप्चा बजार क्षेत्रमा ढुङ्ग विछ्याउने कार्यको प्रारम्भ, नगरपालिकालाई पूर्ण खोप घोषणा लगायतका कार्यक्रम समेत शुभारम्भ भएको बताइएको छ । कार्यक्रममा उपप्रमुख रत्नबहादुर लामाले नमोबुद्ध नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि र रोजगारको क्षेत्रको विकासका लागि जनप्रतिनिधिको सिंगो टिम मिलेर लागिपरेको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले सय दिने अवधीमा नियमितरुपमा गर्नुपर्ने कामका साथै बार्षिक योजनामा समेटिएका काम हरु भइरहेको र कतिपय उल्लेखनीय कार्यहरु अहिले सार्वजनिक गरिएको बताए । नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपानेले सय दिनको अवधीमा नमोबुद्ध नगरपालिकाले सुरु गरेका कामहरु प्रशंसनीय रहेको भन्दै यसको निरन्तरताको कामना गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, मोतिराम तिमल्सिना लगायत सञ्चारकर्मीहरु, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।
