सरकारले अरनिको राजमार्ग सूर्यविनायक धुलिखेल सडक खण्ड विस्तार निर्माणका लागि प्रक्रियागत रुपमा काभ्रेको साँगा देखि धुलिखेल सम्मको सडक टेण्डर आह्वान गरेको छ । तीन वर्ष भित्र सडक विस्तार कार्य सम्पन्न गर्ने गरी सूर्यविनायक-धुलिखेल, धुलिखेल सिन्धुली बद्रीवास सडक आयोजनाले टेण्डर आह्वान गरेको हो । सरकारले सूर्य विनायक-धुलिखेल सडक विस्तारको निर्माण आन्तरिक स्रोतबाट गर्ने गरी सडक निर्माण कार्य अघि बढाएको छ । साँगा देखि धुलिखेल सम्म ४ अर्ब ८९ करोड लागतमा टेण्डर आह्वान गरिएको छ । यस भन्दा अघि जापन सहयोग नियोग जाइकाले काम नगर्ने भनि फिर्ता भएपछि सडक डिभिजन विभागले आन्तरिक श्रोतबाट नै सडक निर्माण तयारी अघि बढाएको र डिपीआर अनुसार ट लेनको सडक सूर्य विनायक-धुलिखेल सडक विस्तार गर्न ९ अर्ब रुपैँया लागत लाग्ने छ भने प्रतिवेदन अनुसार साँगामा करीव २ किलोमिटर सडक विस्तारमा केही समस्या देखिएकाले हाललाई सुर्य विनायक-धुलिखेल सडक विस्तार अन्तरगत काभ्रेको साँगा खण्ड देखि धुलिखेल सम्मको सडक विस्तारका लागि टेण्डर आह्वान गरिएको आयोजनाको सिनियर डिभिजन इन्जिनियर सम्भु प्रसाद आचार्यले बताउनुभयो ।
बनेपा साँगा देखि धुलिखेल सम्म करिब १ कि.मि दुरीको सडकको अनुमानित लागत ४ अर्ब ८९ करोड रहेको सिनियर इन्जिनियर आचार्यले बताउनुभयो । ठेक्का पाउने निर्माण व्यवसायीले तीन वर्ष भित्र निर्माण कार्य पुरा गर्नुपर्ने र १ वर्ष सम्म मर्मत संहारको समेत जिम्मेवारी लिनु पर्ने बताइएको छ । डिपी आरमा बस चल्ने मुख्य रुपमा ४ लेनको सडक दुबै तर्फ सर्भिस लेन सहित दुई मिटरको फुटपाथ निर्माण गर्नु पर्ने छ । त्यस्तै गरी ३ मिटरको मेडियन निर्माण गर्नु पर्ने डिजाइनमा उल्लेख गरिएको छ । आगामी वर्षको कार्तिकबाट काम सुरु गर्ने जनाएको छ । यस आयोजना अन्तरगत साँगा देखि सुर्य विनायक छुट्टै टेण्डर आह्वान गरिने छ । २०७९ श्रावणको पहिलो हप्ता राजमार्गको छेउछाउमा सडक मापदण्ड भित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरी सकेको छ ।
