धुलिखेल नगरपालिकाले हरितालिका तिजको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्यो । नगरप्रमुख अशोक व्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरु उपप्रमुख निराजन जंगम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा (दाहाल), पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, धुलिखेल नगरपालिका पूर्व उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख व्याञ्जुले तिज पर्व धार्मिक सांस्कृतिक परम्पराको महत्वको साथै महिलाहरुको सामुहिकतामा एकता र महिला शसक्तिकरणको लागि नगरपालिकाले सहयोग पुर्याउने बनाउनुभयो । कार्यक्रममा धुलिखेल नगरपालिका १२ वटै वडाका महिलाहरुको सहभागीता रहेको थियो ।
बनेपामा तिज रमाइलो कार्यक्रम
क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लि. बनेपा, क्रियटिभ व्यूटी पालर बनेपा, रोटरी क्लव अफ काभ्रे बनेपा, रोटरी क्लव अफ काभ्रे भ्याली, रोटरी क्लव अफ धुलिखेल र रोटरी क्लव अफ पशुपटीको संयुक्त आयोजनामा तिज रमाइलो कार्यक्रम सोपुहिटी पार्टि प्यालेस चण्डेश्वरी प्राङ्गण नजिकै आइतबार सम्पन्न भयो । उक्त तिज रमाइलो कार्यक्रममा महिला महिला बिच नृत्य र गितमा प्रतिस्पर्धा गराइएको थियो । उक्त प्रतियोगितामा गितमा रोटरी सामुदायिक संघ कुशादेवी प्रथम, र पतिखोरिया कृषि सहकारी, कुशादेवी द्वितिय हुन सफल भएको छ । त्यस्तै गरी नृत्य तर्फ महिला उद्यमी मञ्च पिपल चौरको विष्णु कर्माचार्य र सुजाता श्रेष्ठ प्रथम,रोटरी सामुदायिक संघ द्वितिय, रोट्रयाक्ट काभ्रे भ्याली तृतीय हुन सफल भएको छ । त्यस्तै बेष्ट स्माइल मोना बज्राचार्य, बेष्ट हेयर श्रृजना केसी, मिस व्युटी स्वेता श्रेष्ठ, मिस ट्यालेन्ट सुस्मीता हुमागाई हुनु भएको छ । कार्यक्रमको सभापतित्व क्रियटिभ बचत तथा ऋण सहकारीको अध्यक्ष कमला श्रेष्ठले गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन महिला उद्यमी एवं बनेपा नगरपालिका वडा नं ७ की वडा सदस्य रामेश्वरी मानन्धरले गर्नु भएको थियो ।
आरम्भ अटो वर्क्सको तिज कार्यक्रम
आरम्भ अटो वर्क्स बनेपा (यामाहाको आधिकारीक विक्रेता) बनेपाले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । महिला ग्राहकहरुलाई तिजको शुभकामना आदान प्रदान गर्न प्रत्येक वर्ष आयोजना गरिदै आएको कार्यक्रममा ३५ जना सहभागी रहेका थिए । उक्त कार्यक्रमबाट यामाहा खरिद गर्दा ६० प्रतिशत व्याज किस्तावन्दीमा दिइने उद्घोष गरिएको आरम्भ अटो वर्क्सका प्रवन्ध निर्देशक बुद्ध मानन्धरले बताउनुभयो ।
