IMG-LOGO

साँस्कृतिक विकासको लागि प्रदेश सरकार प्रतिवद्ध छ ः मन्त्री श्रेष्ठ

 मंगल, भदौ ७, २०७९  ---

 

              दाप्चा / नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रको सास्कृतिक र पर्यटकीय विकासको लागि वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नमोबुद्ध नगरपालिकाको निमन्त्रणामा कृष्णजन्माष्टीको रथ यात्रा र भिमसेन जात्रा अवलोकन गर्न आएका मन्त्री श्रेष्ठले पर्यटकीय र सास्कृतिक सम्पदाले भरिपूणर् ऐतिहासिक नगरी दाप्चाको विकासको लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । यसअघि पनि प्रदेश सरकारले दाप्चा कोटकालिका मन्दिर क्षेत्रमा केही पूर्वाधारको लागि सहयोग गरेको थियो । उहाँले भन्नुभयो, अब पनि विभिन्न क्रमागत योजना मार्फत यो क्षेत्रको धार्मिक, सास्कतिक, पर्यटकीय क्षेत्रको विकासको लागि म आफू र प्रदेश सरकार प्रतिवद्धता व्यक्त गर्दछु ।

       नगरप्रमुख कुन्साङ लामाले आफूले सपथ ग्रहण गरेको भोलिपल्ट हेटौंडा पुगेर संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठलाई भेटेर दाप्चामा पर्यटन क्षेत्रको विकासको लागि प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । ‘नगरप्रमुख पदमा सपथ ग्रहण गरेको भोलिपल्ट नै म हेटौंडा पुगेर मन्त्रालयमा दाप्चा क्षेत्रको विकासको लागि योजना पेश गरेका हौं,’ नगरप्रमुख लामाले भन्नुभयो, ‘सबै तह, क्षेत्रको सहयोगमा दाप्चा क्षेत्रको सास्कृतिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको विकासको लागि नगर प्रतिवद्ध छ ।’ काठमाण्डौँबाट नजिक रहेको दाप्चामा प्रशस्त पर्यटकीय सम्भावना छन् । पुरानो ऐतिहासिक सम्पदाले भरिपुणर् दाप्चामा विभिन्न कलात्मक घर, मठमन्दिर समेत छन् । पर्यटकीय क्षेत्र नमोबुद्ध हुँदै पुगिने दाप्चालाई पर्यटकीय क्षेत्र बनाउन कोटकालिका एकिकृत विकास तथा मन्दिर सरक्षण समिति समेत गठन भएको छ । यहाँका युवाले पनि यस क्षेत्रको पर्यटकीय विकासको लागि योजना बनाइरहेका छन् ।

       मन्त्री श्रेष्ठले दाप्चा तल्लो हटिया र माथिल्लो हटियामा हुने कृष्णरथ यात्रा र भीमसेन जात्रा समेत अवलोकन गर्नुभयो । उहाँले जात्राको निरन्तरताको लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभयो । चार सय १५ बर्ष पुरानो जात्रालाई दाप्चाका स्थानीयले प्रत्येक घरधुरीबाट पैसा उठाएर निरन्तरता दिइरहेका छन् । श्रीकृष्णजन्माष्टमी नवदुर्गा जात्रा समिति, तल्लोहटियाका अध्यक्ष शिव श्रेष्ठ गुठियारबाट उठाएको पैसाले जात्रा चलाउन कठिन भएकोले सहयोगको अपेक्षा गर्नुहुन्छ । माथिल्लो हटियाका स्थानीय युवा जीवन श्रेष्ठले संस्कृतिक संरक्षण र प्रवद्र्धनको लागि स्थानीय, प्रदेश र संघ सरकारले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । दाप्चाका पुरानो जात्रा सञ्चालन र संरक्षणको लागि स्थानीय तहले सहयोग गरेपनि त्यो पर्याप्त छैन । नगर प्रमुख कुन्साङ लामाले सकेको सहयोग र पहल गर्ने बताउनुभयो ।

       दाप्चाका दुई बजारमा ऐतिहासिक कृष्णजन्माष्टमीको विशेष जात्रा हुन्छ । तल्लो हटियामा १६६४ सालदेखि र माथिल्लो हटियामा १९६० र कोट हटियामा २००० सालदेखि जात्रा शुरु हुँदै आएको शिलालेखहरुमा उल्ल्खेख छ । नवदुर्गा सहित गणेश, महादेव, पार्वती, विष्णु, लक्ष्मी, वाराही, देवी, भैरव, महाकालीका साथै राजारानी नाच, कुकुर नाच, हंशभारत नाच, लाखे नाच हुन्छ । सुम्व निसुम्व, महिशासुर, चण्डमुण्ड लगायतका राक्षसले देवताहरुलाई दुख दिएपछि देवीको शरणमा पर्दा देवीले उनीहरुको बध गरेको खुशीयालीमा यो जात्रा देखाउने गरिएको छ । जात्रा गर्दा घरपरिवार र शरिरमा भएको कुनै पनि समस्या भए नाश हुने धार्मिक मान्यता छ । पञ्चमीको दिनमा भिमसेन र हिले जात्रा, षष्ठीको दिनमा देवी भैरव नाँच, सप्तमीको दिनमा भोजको लागि तयारी गरिन्छ । कृष्णाजन्माष्टमीको दिनभर ब्रत बसेर कृष्ण मन्दिरमा पुजा गर्ने, नाँचगान गर्ने र रातभर जाग्राम बस्ने गरिन्छ । नवमीको दिनमा कृष्ण जन्मेको खुशीयालीमा रथजात्रा गरेपछि जात्रा सकिन्छ ।

       दाप्चाको साँस्कृतिक तथा पर्यटकीय विकासको लागि ‘दाप्चाका ५ जात्रा’ नामक लघु वृत्तचित्र निर्माण, भिन्तुना र्‍याली आदी गरिएका थिए । पञ्चमीको दिन देखि ५ दिन सम्म चल्ने दाप्चामा चल्ने कृष्णजन्माष्टमीको विशेष जात्रा सकिएको छ । विभिन्न जात्रा तथा नाँच गरेर जात्रा सकिएको हो । मन्त्री श्रेष्ठसंगै नमोबुद्ध नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्न लामा, वडा नं १ का वडाअध्यक्ष प्रेमबहादुर तामाङ,  वडा नं ८ का शेरबहादुर तामाङ, ९ का विरबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठलाई माथिल्लो हटिया, तल्लो हटिया, नमोबुद्ध नगरपालिका वडा नं ८ मा स्वागत समेत गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्