नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टीलाई नै असर गर्ने गरी कुनै पनि गतिविधि नगर्ने तर स्वच्छचारी ढङ्गबाट अघि बढेका कांग्रेस पार्टी सभापति शेरवहादुर देउवा घोर विरोध भने गर्ने भएको छ । केन्द्रीय समिति बैठकको सम्मुखमा पार्टी र पार्टी नेतृत्वको सरकारबारे अलग्गै भेला गरेर छलफल गरेका नेता कोइरालाले पार्टीलाई नै क्षति हुने गरी भने कुनै गतिविधि नगर्ने जनाएको हो । यद्यपि कोइराला पक्षका नेताहरूले पार्टी सभापतिको एकलौटी व्यवहारको विरोधमा रहेको प्रतिक्रिया दिनुभयो । यसअघि गत बिहीबार र शुक्रबार कोइराला समूहले सरकार र पार्टी सञ्चालनमा सभापति देउवाले परामर्श नगरी एकलौटी गरेको भन्दै त्यसको विरुद्व देशभर रचनात्मक विरोधका कार्यक्रम गर्ने घोषणा गरेको थियो ।
कोइराला समूहले पार्टीभित्रै देशभर विरोधका नाममा समानान्तर गतिविधि गर्न लागेको भन्दै त्यस्तो गतिविधिले पार्टीलाई नै हानी पु¥याउन सक्ने भन्दै नेताहरूको आलोचना भएको थियो । आइतबारको बैठकपछि नेताहरूले आफ्ना गतिविधिका कारण पार्टीलाई कुनै पनि क्षति नहुने भनेका छन् । केन्द्रीय सदस्य गोविन्द पोखरेलले पार्टीलाई नै क्षति हुने गरी कोइराला समूहले कुनै पनि कार्यक्रम नगर्ने बताउनुभयो । ‘हामी पार्टी र सरकार सञ्चालनमा सभापतिजीले एकलौटी गरेको विषयमा गम्भीर छौँ । त्यस्तो प्रक्रियामा पार्टीको महाधिवेशनमा ४० प्रतिशत हिस्सा ओगटेको हाम्रो समूहको अस्तित्वलाई पनि स्वीकारिनुपर्छ भन्ने हो, हामी त्यस्तो एकलौटी व्यवहारको विरोधमा छौँ भन्नु भयो । ‘तर त्यसो भन्दैमा हामीले पार्टीलाई नोक्सान हुने गरी क्रियाकलाप नगर्ने बताउनुभयो ।
‘हामी पार्टी विधानसम्मत् ढंगले चलोस् । कार्यकर्ता र जनताका माझमा पार्टीप्रतिको विश्वास बढेर जाओस् भन्ने चाहान्छौँ, त्यसका लागि सभापतिजीले ठीक ढंगले काम गरिदिनुस्, जनताको जनजीविकालाई ध्यानमा राखेर काम गरिदिनुस् । पार्टीलाई विधानअनुसार चलाउनुस् भन्ने आग्रह हो, खबरदारी हो उहाँले भन्नुभयो । ‘तर खबरदारी गर्दा पार्टीलाई कुनै नोक्सान हँुदैन । नोक्सान हुने काम गर्दैनौँ । पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने पहिलो मान्यता हो ।’ कोइराला समूहले १४ औँ महाधिवेशनपछि सभापति देउवाले पार्टी सञ्चालनमा नेता कोइराला र कोइराला पक्षीय पदाधिकारीसँग कुनै परामर्श नगरी एकलौटी गरेको आरोप लगाएको छ । ‘सभापतिको कार्यशैली राम्रो भएन, सबैलाई न्यायोचित हुने गरी पार्टी सञ्चालन होस्, सरकार सञ्चालन होस् भन्ने हाम्रो चाह हो,’ केन्द्रीय सदस्य पोखरेलले भन्नुभयो ।
