प्रभु बैंक र सेञ्चुरी बैंक आपसमा गाभिन सहमत भएका छन् । असार मसान्तभित्रै मर्जरको सम्झौता गर्ने गरी डिल फाइनल भएको सेञ्चुरी बैंकका एक सञ्चालकले काभ्रे टाइम्सलाई जानकारी दिए । ‘हामीले स्वाप रेसियो १ः१ मागेका थियौं, प्रभु ९५ दिन तयार भएको छ,’ नाम नछाप्ने सर्तमा एक सञ्चालकले भने, ‘९५ मै पनि जान हामी खासै असहमत छैनौं, त्यसैले आगामी साता मर्जरमा सम्झौता हुने प्रवल संभावना छ ।’ मर्जरपछि बैंकको नाम प्रभु बैंक नै रहनेमा सेञ्चुरीका सञ्चालकहरु सहमत छन् । कर्मचारी व्यवस्थापनमा पनि खासै इस्यू छैन । यी दुई बैंकबीच यसअघि पनि मर्जरको डिल फाइनल भएको थियो । सेञ्चुरी बैंकको मर्जर कमिटिले प्रभु बैंकसँग मर्जरमा जाने निर्णय नै गरेको थियो । त्यसबेला स्वाप ८५ तय गरिएको थियो । तर, सेञ्चुरीका केही सञ्चालकहरुले माछापुच्छ्रेसँग कुरा अघि बढाएका थिए । माछापुच्छ्रेसँग गएर प्रभुले ९० दियो भन्ने अनि प्रभुसँग आएर माछापुच्छ्रेले ९० दियो त्यो भन्दा बढी चाहियो भन्दै सेञ्चुरीका सञ्चालकहरुले बार्गेनिङ गरेका थिए । त्यसपछि भने दुबै बैंकसँगको डिल स्थगित भएको थियो ।
अहिले प्रभुले ९५ दिन तयार भएपछि डिल करीबकरीब फाइनल भएको हो । ‘डिल फाइनल भइसकेको छ, यसलाई औपचारिकता दिनमात्रै बाँकी छ,’ स्रोतले भन्यो । यता प्रभु बैंकको सञ्चालक समितिमा भने कुनै समस्या छैन । सेञ्चुरीले औपचारिकरुपमा सहमति जनाएको केही घण्टामै प्रभुको सञ्चालक समितिको बैठक बसेर अन्तिम रुप दिने तयारी छ । ‘अपवाद भयो भने मात्रै प्रभु र सेञ्चुरीको डिल औपचारिकतासम्म पुग्दैन,’ स्रोतले भन्यो । स्रोतका अनुसार प्रभु बैंकका सबैभन्दा ठूला लगानीकर्ता देवीप्रकाश भट्टचनले नै सेञ्चुरीसँग मर्जरको डिल गरेका हुन् । सेञ्चुरीका दुई सञ्चालक भने मर्जरमा जान नपरे हुन्थ्यो जस्तो आसय व्यक्त गरिरहेका छन् । तर, असार मसान्तपछि राष्ट्र बैंकले विभिन्न सूचकहरुको सीमा तोकिदिएको छ । र, उक्त सीमारेखा नाघे कुनै कम्प्रमाइज नगर्ने भनेको छ । भर्खरै स्थलगत अनुगमनमा आएको राष्ट्र बैंकको टोलीले सेञ्चुरीलाई उपयुक्त पार्टनर खोजेर मर्जरमा जान सुझाव दिएको छ ।
त्यस्तै, प्रभु बैंकका सीइओ अशोक शेरचनको कार्यकाल आगामी माघदेखि सकिँदै छ । लामो समय भएका सीइओ भएका शेरचनको अभावमा बैंकलाई अघि बढाउन कठिन हुने लगानीकर्ताहरुको बुझाइ छ । अर्को बैंकसँग मर्ज भएको खण्डमा शेरचनले बाँकी अर्को कार्यकाल पनि सीइओ भएर बैंक चलाउन पाउने छन् । ग्राण्ड र किष्टजस्ता बिग्रिएका संस्था उनै शेरचनको नेतृत्वमा प्रभुमा बिलय गराएर बैंकलाई यो स्थानसम्म ल्याउन सफल भएका छन् । ०७९ असार मसान्तभित्र मर्जरमा जाने सम्झौता गर्ने समान वर्गका बैंक तथा वित्त कम्पनीलाई यसअघि दिँदै आएको सुविधा दिने राष्ट्र बैंकले यसअघि नै प्रष्ट पारिसकेको छ । साउन १ पछि सम्झौता गरेको खण्डमा राष्ट्र बैंकले दिँदै आएको सुविधा बैंकहरुले पाउने छैनन् ।
