बनेपा नगरपालिका अरनिको राजमार्ग भित्र र पनौती धनेश्वर मार्ग दुवै क्षेत्रको नागरिक हिड्ने पैदल मार्गमा व्यापार व्यवसाय गर्दा पैदल यात्रुहरुलाई हिड्नै मुस्कील परेको छ । पैदल मार्गमा सडकको दायाँ बायाँ सडक पेटीमा फलफुल, कपडा, जुत्ता पसलहरु विगत डेढ दशक देखि स–साना पसलहरु सञ्चालन गरेर व्यवसायीहरुले जीवीकोपार्जन गर्दै अएका छन् । बनेपा नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गरी आगामी श्रावण १ गते देखि पैदल मार्गमा कुनै पनि खालका व्यवसाय गर्न नपाइने सूचना जारी गरेको छ ।
बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यका अनुसार यस अघि पनि पैदल मार्गमा व्यापार व्यवसाय गर्नेहरुलाई पटक पटक सार्वजनिक सूचना जारी गरेर हटाएको भए पनि पुनः अटेर गरेर पैदल मार्गको दायाँ बायाँ सडक पेटीमा व्यवसाय गर्ने कार्य गरेको हुँदा सहरको सौन्दर्य विग्रनुको साथै नागरिकहरुको सहज रुपले यात्रा गर्ने अधिकार कुण्ठीत भएको बताउनुभयो ।
