परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरण तर्फ विकास गराउने उदेश्यले बनेपा नगरपालिकाले आइतबार कृषकलाई हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ । बनेपा नगरपालिकाले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । ३३ हजार रुपैंया परेको उक्त ट्याक्टरलाई ५० प्रतिशत सहुलियतमा कृषकले १६ हजार ५ सय रुपैया अनुदानमा ट्याक्टर पाएका हुन् । नगरले १ सय ६ वटा हाते ट्याक्टर बितरण गरेको कृषि शाखा प्रमुख बच्चु वहादुर कार्कीले बताउनुभयो ।
२०७८÷०७९ सालको नगरपालिकाको बजेट मार्फत आवेदन दिएका कृषकहरु मध्ये वडाबाट सिफारिस भएका बनेपा नगरपालिकाका कृषकहरुलाई ट्याक्टर वितरण गरेको बताइएको छ । बिगतका दिनमा कृषकले अनुदानमा ट्याक्टर लियर बेच्ने गरेको भन्ने कुरा सुनेकोले त्यस्तो नगर्न अनुरोध गर्दै नगरपालिकाले सहुलियत अनुदानमा ट्याक्टर लिएको घर घरमा पुगेर अनुगमन गर्ने समेत शाक्यले बताउनुभयो । कार्यक्रममा बनेपा नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, प्रशासकीय अधिकृत ध्रुवराज नेपाल, कर्मचारीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
