नेपाल राष्ट्र बैंकले दुई ठूला बिग मर्जरलाई सैद्दान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोवल आईएमई–बैंक अफ काठमाण्डुलाई मर्जरको सैद्दान्तिक सहमति दिएको हो राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्लिकमाण्डूसँग भने, ‘साथै नविल र एनबीको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ ।’ इन्भेष्टमेन्ट मेगा बैंकबीच गत जेठ २७ गते मर्जरमा जाने सम्झौता गरेका थिए । त्यस्तै, ग्लोवल आइएमई र बैंक अफ काठमाण्डूबीच यही असार २ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।
मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने सहमति भएको छ । संस्थाको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्जमा जान लागेका हुन् । चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकसँग १ खर्ब ८० अर्ब निक्षेप छ । मेगा बैंकसँग १ खर्ब ४७ अर्बको निक्षेप छ । कर्जा नेपाल इन्भेष्टमेन्ट बैंकको १ खर्ब ७३ अर्ब छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब रहेको छ । चुक्ता पुँजीका आधारमा हेर्दा इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड छ । मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ । मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ । स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैंकको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुनेछ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा जाने सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको हो । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३५ अर्ब हुने छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तथा बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरे । अहिले ग्लोबलको चुक्ता पुँजी २३ अर्ब ७९ करोड छ । बिओकेको चुक्ता पुँजी १० अर्ब ६२ करोड । ग्लोबल आइएमई बैंकमा दुई वाणिज्य बैंक सहित १८ वटा संस्था मर्ज भएका छन् । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएका थिए ।
लुम्बिनीले नवदुर्गा फाइनान्सलाई समेत गाभेको थियो । यसरी ग्लोबल आइएमई बैंक २० वटाभन्दा बढी संस्था मर्जर भएर बनेको संस्था बन्ने भएको छ । वैशाख मसान्तसम्म ग्लोवलको निक्षेप २ खर्ब ७७ अर्ब तथा बिओकेको १ खर्ब ४ अर्ब छ । कर्जा भने २ खर्ब ७३ अर्ब ग्लोबल आइएमई बैंकको तथा १ खर्ब ९ अर्ब बीओकेको छ । मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बीओके हुने र सञ्चालक समितिमा ग्लोवल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।
