डडेलोको कारण विषाक्त हावा र तुवालो शुक्रवार सिमसिम पानी परेर खुले पनि राट्रिय राजनीतिको परिदृश्य अझै स्पष्ट खुलेको छैन हिजो सोमबार नेपाली कांग्रेसका नेता गगन थापाले जनता समाजवादी पार्टीले नयाँ सरकार बनाउने विषयमा जसपाले छिट्टै निर्णय दिनुपर्ने बताए ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले जसपाले मुलुकलाई धेरै अन्योलमा नराखी आफ्नो निर्णय छिटो गर्नुपर्ने बताएका हुन् । हिजै प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रबुद्ध नेता प्रदिप गिरीले भने –आज बडो असमान्जस्यतामा म बोल्न उठेको छु । बोलुँ कठिन, नबोलुँ झन् कठिनको अवस्था छ । विगत महिनाहरुमा के कस्ता घटनाहरु भए, ती घटनाले यस संसदलाई समेत कसरी प्रभावित गर्यो, र अब संसदको पूर्नस्थापनापछि के कस्ता कठिनाइ छन् संसदभित्र र संसदबाहिर समेत आइरहेको छ । त्यसमा हामी सबै विज्ञ छौँ । सभामुखको आफ्नै पीडा होला ।
व्यवस्था एउटा कुरो हुन्छ, व्यक्ति अर्को कुरा हुन्छ । व्यवस्थागत त्रुटीलाई व्यक्तिले आफ्ना क्षमताका साथ, त्यागका साथ परिस्कार र परिमार्जन गर्दै लैजान सक्छ । कुनै पनि मुलुकमा लेखिएको संविधान परिवर्तन र संशोधन नै नभई कहिल्यै पनि चिरञ्जीवी भएको छैन । जुन संविधानले आफूलाई अपरिवर्तनीय स्वीकार गर्यो, त्यसको अन्त्य भएको छ । त्यसको उदाहरण नेपालमा पनि छ । अपरिवर्तनीय केही पनि कुरा हुँदैन । त्यस्तो परिवर्तन गर्नुपर्ने, परिस्कार गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने कुरालाई बिर्सिएर एकैपटक ड्याङ्ग संसद भंग भन्ने कदम हामीले देख्यौँ । त्यसपछि संसद पूर्नस्थापना पनि भयो । र, पुनस्र्थापना गर्ने निकायलाई, त्यसका लागि सडकमा आउनुभएका जनतालाई, त्यसका लागि भूमिका निर्वाह गर्ने राजनीतिक नेताहरुलाई, उहाँहरुलाई म धन्यवाद र बधाई दिन चाहन्छु । अगाडि के त ? अगाडिको कठिनाइको व्याख्यामा म जान चाहन्नँ ।
एउटा कुरा म सम्झन्छु, केही महिनाअघि मैले यहाँ एक पटक सरकारको क्रियाकलापको विषयमा कुरा गर्दा इङ्ग्ल्याण्ड इतिहासबाट पैँचो लिएर ‘इनफ इज इनफ, प्रधानमन्त्री महोदय ! इनफ इज इनफ’ भनेको थिएँ । त्यहाँ विद्रोही नेता चर्चिलले उनकै पार्टीका नेतालाई चेतावनी दिए । चेतावनी दिइसकेपछि तत्काल त च्याम्बर्लिनलाई राजीनामा दिएनन् । तर त्यही प्रसिद्ध ऐतिहासिक लर्ड एम्बेरले प्रस्ताव र चर्चिलले समर्थन गरेको प्रस्तावको आधारमा अन्ततः च्याम्बर्लिनको राजीनामा भयो । तर, त्यो सुखद राजीनामा भयो । बेलायतले अर्को नेता पायो ।
मेरो त्यसबेलाको ‘इनफ इज इनफ’ को बडो चोटिलो, गहकिलो र मलाई परास्त गर्ने खालको उत्तर प्रधानमन्त्रीले दिनुभएको थियो । उत्तर दिन मामिलामा नेपालमा मात्रै होइन मेरो विचारमा एसियामा हारे मोदीसँग हार्नुहुन्छ, अरूसँग त हार्नुहुन्न उहाँ । यस अवस्थामा अहिले सबैभन्दा ठूलो प्रश्न एकछिन अघि शुन्य समयका वक्ताले भन्नुभयो–त्यो चुच्चे नक्सा कता हरायो ? त्यो चुच्चे नक्साको भ्रुण हत्या भएको हो ? बालहत्या भएको हो ? या एउटा राजनीति हो ? राष्ट्रिय राजनीति एउटा सानो मोहोरा मात्र थियो ? सतरञ्ज खेलको एउटा प्यादा मात्र थियो ?
‘इनफ इज इनफ’ भन्दा भ्रष्टाचारको कुरा थिए । राज्यशक्तिको अनुपस्थितिको कुरा थियो । एकपछि अर्को बलात्कार भइरहेका घटनाको कुरा थियो । अहिले आइकन त संसद विघटन र पुनस्र्थापना त यो भन्दा पनि धेरै गम्भीर कुरा उठाएका छन् । भ्रष्टाचार मात्र भएको छ भनेर पुग्ने भएको छैन, विकासको गतिमा जुन स्थिरता र जडता भएको छ त्यो मात्र सम्झाएर भएको छैन । हामी त राष्ट्र कै नियतिका किनारामा उभिएका जस्ता छौँ ।
म एउटा सानो घटनाबाट सकारात्मक ढंगले प्रधानमन्त्रीका, पार्टी सभापतिहरूका, राष्ट्रपतिका, सभामुखका सबैका भूमिकालाई संकेत गर्न चाहन्छु । २०४७ सालमा हामीले संविधान बनायौँ । हाम्रो नेपाली काँग्रेस भनौँ या हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संविधान बनायौं । हामी उहाँका धेरै शिष्य हामी यही बेन्चमा बसिरहेका छौं । संविधान बनाएपछि उहाँले घोषणा गर्नुभयो–यस्तो सुन्दर संविधान विश्वमा कहीँ छैन । हामीले पनि पत्याएकै हो । ताली र थपडी बजायौँ । हो छैन हाम्रो सन्तले भनेको । विद्वान नेताले भनेको । संसदीय व्यवस्थाका सबभन्दा जानकार महानुभावले भनेको पनि पत्यायौँ । तर संविधानको परिणती के भयो ? तपाईँलाई थाहा छ । त्यसको परिणती गर्न गराउन, जोगाउन, जोगाउन नसक्नुमा, यसलाई सिध्याउन उद्धत हुनुमा हामी सबै संलग्न थियौँ । म कुनै विरोधी पक्षलाई मात्र जिम्मेवार ठह¥याउँदिन ।
२०७२ को संविधान त त्यस किसिमको सुखद स्वागतका साथ पनि बनेको छैन । याद राख्नुहोला ठूलो विवादका बीच, विभाजनका बीच, एकातिर दीपावली हुँदै थियो भने अर्कोतिर कालोरात्रि (ब्लाक डे) मनाउँदै हुनुहुन्थ्यो । स्पष्ट छ, नेपाली काँग्रेसले प्रजातन्त्रका माध्यमबाट, अन्य माध्यमबाट दलित, महिला, जनजाति मधेसी, पछि हामीले कर्णाली थप्यौँ । यस संविधानसँग, दलित असन्तुष्ट, जनजाति घोर असन्तुष्ट, मधेस त विद्रोहका लागि लिएका थिए । यस संविधानलाई हामीले सम्हाल्ने कि नसम्हाल्ने ? यसलाई हामीले मलजल गर्ने कि नगर्ने ? मलजल गर्नुको साटो भर्खर रोपिएको बिरुवालाई उखेलेर जरो लागेको छ कि छैन भनेर हेर्ने ? विरुवा लगाउनेले विरुवालाई केही समय धैर्यपूर्वक जलमल गर्नुको साटो विरुवा उखेलेर त्यसको जरा हेर्ने प्रवृत्ति हामीले विगत महिनाहरुमा देख्यौँ । अब जरा हेर्न नखोज्नेले नयाँ दायित्व लिनुपरेको छ । यो संविधानको रक्षा हामी गर्छौं कि गर्दैनौँ ? रक्षा हामी यही रुपमा गर्न सक्छौं कि यथोचित परिमार्जनका साथ गर्छौँ ? त्यो परिमार्जन टालटुले हुन्छ या मुलुकको सबै जाति, जनजाति, पहिचान चित्त बुझाउनु हुन्छ ? यो काम कसैले गर्न सक्दैन । चाहेर पनि प्रधानमन्त्रीले गर्न सक्नुहुन्न, प्रतिपक्षका नेता र दलले पनि सक्नुहुन्न । संविधानको पहिलो परिभाषा के हो भने संविधान मूलतः सहमतिको दस्तावेज हो । यो मेरा शब्द होइनन्, विश्वका इतिहासमा सबैभन्दा लोकप्रिय रहेको, सबैभन्दा चिरञ्जीवी रहेको अमेरिकन संविधान, सबैभन्दा सानो र चुस्त रहेको सो संविधानमा त्यस संविधानका मस्यौदाकारले लेखे, ‘मेरो चित्त नबुझेका कुरा धेरै छन्, तर मेरा कुरा वर्षेनी बदलिरहेका छन् । कुनै समय राजतन्त्रको सपोर्टर थिएँ । आज विरोधमा छु । कुनै दिन मेरो पनि विचार बदलिएला । आजको सहमतिको आधारमा कुरा गर्छु । राज्य र अधिकारको कुरा गर्छु । राष्ट्रपतिको सापेक्ष अधिकारको कुरामा, यस संविधानमा लेखिएको कुरामा म सहमत छैन’ भनेर संविधानका प्रमुख मस्यौदाकार बेन्जामिन फ्यांकलिन बोलेपछि उनको प्रान्तले सही गर्न मानेको थियो ।
आज सबैभन्दा पहिले यस सदनको माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्छु । बाहिर सब कुरा आइरहेका छन् । को प्रधानमन्त्री बन्ने भन्ने कुरामा, प्रधानमन्त्री मानौँ सडकमा फ्याँकिएको छ । शेरबहादुरजी, महन्थ ठाकुरदेखि प्रचण्डसम्म । वर्तमान प्रधानमन्त्री त चिरञ्जीवी प्रधानमन्त्री भइहाल्नु भयो । प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन । पहिलो प्रश्न जवाफ दिनुस् यो संविधानलाई बचाएर यसैमा हामी टेकेर अगाडि बढ्ने हो अथवा यसलाई २०४७ सालको जस्तै बिजोग गर्ने हो ? अथवा चुच्चे नक्साको जस्तै बिजोग बनाउने हो ? दोस्रो कुरा, अब हामीले संविधान लेख्दा कसरी लेख्छौँ ? चुनावको कुरा आएको छ, यसमा कुनै शंका छैन कि चुनाव लोकतन्त्रको अत्यन्तै सार्थक र विश्वस्त कसौटी हो । चुनावमा त जाने तर कसरी जाने ? सबै मिलेर जाऔं यसै सरकारको नेतृत्वमा चुनावमा जान हामी सबै तयार हुन्छौं कि ? कुनै व्यक्ति वा शक्तिले बाहिर बसेर विद्रोह गर्छ कि ? याद राख्नुस् चुनावमा पनि सहमतिमा जाने कुरा हो । (प्रतिनिधिसभा बैठकमा प्रदीप गिरीले गरेको सम्बोधनको सम्पादित अंश)
