तपाईँको बैंकखातामा रकम छैन तर भुक्तानी दिनुपर्नेलाई चेक काट्नु भयो उसले बैंकबाट भुक्तानी पाएन यस्तो अवस्थामा के हुन्छ ? होसियार यस्तो अवस्थामा तपाईँलाई चेक अनादर सम्बन्धी मुद्दामा दोषी ठहर्याएर १ महिना देखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने कानुन बन्ने भएको छ ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय ९दोस्रो संशोधन विधेयक, २०८० उपर दफावार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।
१५ लाख सम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोड भन्दा माथिको चेक अनादर प्रमाणित भएमा दुई वर्षको कैद सजाय हुने गरी व्यवस्था गर्न सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताएको काभ्रे टाइम्सलाई बताए ।
सभापति चालिसेले सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरि नै विधेयकलाई अन्तिम रुप दिने बताए । बैठकमा उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले दफावार छलफलका क्रममा आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताए । चेक अनादरको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण र निरुत्साहित गर्न सजायको व्यवस्था गरिएको उनले बताए ।
बैठकमा सांसद सूर्य थापाले चेक अनादरका घटनामा राष्ट्रिय मानकका आधारमा क्षतिपूर्ति वा व्याजको व्यवस्था राख्नुपर्ने र चेकका कारण विश्वासको संकट आउन दिन नहुने बताए । सांसद डा. प्रकाशशरण महतले जेल सजाय काटेका भरमा रकम तिर्नबाट कसैले उन्मुक्ति पाउन नहुने उल्लेख गरे । उनले पाँच प्रतिशत जरिवाना सहित कैदको व्यवस्था व्यावहारिक रहेको बताए । सांसद डा.स्वर्णीम वाग्लेले १ करोड भन्दा बढिको चेक अनादरमा कडा सजाय हुनुपर्ने बताए ।
साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो । चेक अनादर सम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो । हामीले काभेका केही वाणिज्य बैकलाई तपाईँको बैंकमा चेक बाउन्स कति प्रतिशत हुन्छ ? यस्तो अवस्थामा के गर्नुहुन्छ भनेर सोधेका थियौं ः प्रतिक्रिया रहेको छ ः
मन्दिको कारण ५० प्रतिशत चेक बाउन्स बढ्यो
साजन कसलवत
प्रबन्धक
नेपाल बैंक लि बनेपा शाखा
आर्थिक वर्ष २०७९ ÷०८० मा चेक बाउन्स हप्तामा १ देखि २ वटा आउने गर्दथियो । अहिले तिब्र रूपमा बढेर हप्ताको ३ देखि ४ वटा संख्यामा बढ्दै गएको कुरा नेपाल बैंक लिमिटेड बनेपा शाखा प्रबन्धक साजन कसलवतले बताए । शाखा प्रबन्धक कसलवतका अनुसार आर्थिक मन्दिका कारण चेक बाउन्स झनझन बढेर गएको उल्लेख गरे । प्रतिशतको आधारमा भन्नु पर्दा ५० प्रतिशतले वृद्धि भएको बताए । चेक ग्रहण गरेको ग्राहकले बैंकमा चेक इस्यु गर्दा सम्बन्धित कम्पनी, व्यवसायी व्यक्तिको खातामा रकम बैंकमा जम्मा रहेनछ भने बैंकले चेक सम्बन्धीत चेक कर्तालाई नै फिर्ता गर्छ । दुई पटक सम्म पनि खातामा रकम छैन भने प्रमाणको लागि ३ पटक सम्म बैंकमा भुक्तानी दावी गर्दा पनि भएन भने सम्बन्धीत चेक इस्यु गर्ने व्यक्तिले चेक बाउन्स गर्न निवेदन दिनुपर्ने हुन्छ , निवेदनको साथ दुई हजार + भ्याट सहित रकम जन्मा गरेपछि कालो सूचीमा राख्न सम्बन्धित निकायमा बैंकले पत्राचार गरिने शाखा प्रबन्धक कसलवतले बताए ।
व्यालेन्स नभएको चेक दिने कालो सूचिमा पर्छ
ईश्वरी प्रसाद ढुङ्गेल
प्रबन्धक
राष्ट्रिय वाणिज्य बैंक, धुलिखेल शाखा
राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा पनि हरेक हप्ता २ देखि ३ वटा चेक बाउन्सको लागि बैंकमा आउने गरेको शाखा प्रबन्धक ईश्वरी प्रसाद ढुङ्गेलले बताए व्यवसाय निरन्तर सञ्चालन गर्न कारोबारलाई चुस्त दुरुस्त ग्यारेन्टीको लागि व्यवसायी, व्यक्ति जो कसैले चेक दिने प्रचलन छ त्यो बैंक प्रतिको विश्वास हो, अहिले आर्थिक मन्दिको कारण चेक बाउन्स हुने क्रम बढ्दा बैंक प्रतिको विश्वासमा समेत प्रश्न उठ्न थालेको हुँदा खातामा रकम नभई कुनै पनि व्यक्ति संघ, संस्था होस् या व्यवसायीले बैंकमा रकम छैन तोकिएको समयमा भुक्तनि गर्न सकिदैन भने चेक काटेर अरुलाई दुःख नदिनु बेस हुन्छ नत्र कानुनी कारवाहीमा उभिनु पर्ने हुन्छ, सबैले सजग हुनुपर्ने अवस्था आएको शाखा प्रबन्धक ढुङ्गेलले थप प्रष्ट पार्दै भने । चेक बाउन्सको लागि ३ पटक सम्म बैंकमा रकम झिक्न जाँदा चेक फिर्ता भए सम्बन्धीत व्यक्ति वा संस्थाले आधिकारिक हस्ताक्षर सहित बैंकमा चेक बाउन्सको लागि निवेदन दिन सक्छ र बैंकले नियमानुसारको कार्य गरी कालो सूचीमा राख्नको लागि सिआइवीमा पठाउने कुरा प्रबन्धक ढुङ्गेलले बताए ।
आर्थिक मन्दिको कारण चेक बाउन्स बढ्यो
यादव आचार्य
प्रबन्धक
माछापुच्र्छे बैंक लि.
बनेपा शाखा
व्यापार व्यवसायको कारोबारमा सिथिलता आउनु, आर्थिक समस्या जस्ता कारणले गर्दा नागरिक, व्यवसाय गर्ने व्यवसायी सबै आर्थिक समस्यामा परेका छन् । यी यावतको कारण दिनप्रति दिन बैंकमा चेक बाउन्स बढ्दो छ । ०७९÷ ०८० मा दैनिक १ वटा चेक बाउन्सको लागि आउने गर्दथ्यो अहिले दैनिक जसो २ वटाको हाराहारीमा आउने गरेको शाखा प्रबन्धक यादव आचार्यले बताए । ३ पटक सम्म चेक भुक्तानी दावी गर्दा पनि बैकमा रकम नभए सम्बन्धीत पक्षले बाउन्सको लागि निवेदन दिन सक्छ । कानुन अनुसारको २ हजार रकम बैंक दाखिला गरेको खण्डमा बैंकले कालो सूचिमा सूचिकरणका लागि प्रक्रिया थाल्ने शाखा प्रबन्धक आचार्यले बताए ।
चेक बाउन्स गर्नेको संख्या बढ्दा समस्या थपियो
संगम अधिकारी
प्रबन्धक
एनआइसी एसिया बैंक बनेपा शाखा
बिगतका वर्षमा हप्तामा २÷३ वटा चेक वाउन्स गर्न आउने हुन्थ्यो । गत वर्ष देखि ह्वात्तै बढेर ४ देखि ५ जना सम्म चेकको रकम भुक्तानी नभएर बाउन्सको लागि बैंक धाउने प्रक्रिया बढेको कुरा एनआईसी एसिया बैंक बनेपा शाखा प्रबन्धक संगम अधिकारीले बताए । तीन पटक सम्म बैंकमा भुक्तनि दावी गर्दा चेकको भूक्तानी नभए सम्बन्धित पक्षले निवेदन सहित नियमानुसार २ हजार रकम तिरेर चेक बाउन्सको लागि बैंकमा प्रक्रिया गर्न सक्छ । सोही अनुसार बैंकले कालो सूचीमा सूचीकरणको लागि पत्राचार गर्ने शाखा प्रबन्धक अधिकारीले बताए ।
