स्थानीय चुनाव आउन दुई महिना बाँकी हुँदा काभ्रे जिल्लामा अस्तित्वमा रहेका साना ठुला सबै राजनीति पार्टीका गतिविधिहरु गाउँ गाउँका टोलटोलमा हुन थालेका छन् । नेपाली काङ्ग्रेस, एमाले माओवादी केन्द्र एकीकृत समाजवादीलाई चुनाव लागिसकेको छ तर विप्लव र किरण पक्ष यो चुनावमा भाग लिन्छन् वा लिदैनन अझै स्पष्ट छैन । कोरोना महामारीका कारण विगत दुई वर्ष देखि सुस्ताएका विभिन्न पार्टीका गतिविधिहरू स्थानीय चुनाव घोषणा हुनासाथ उत्साहपूर्वक गाउँ केन्द्रित बन्न थालेका हुन् । तर एमसिसी मुद्दाले केही दिन सुस्त भएको राजनीतिक गर्मि चैतसँगै तातेको छ । काभ्रे र देशभरका ७७ जिल्लामा सबैजसो दलले सदस्यता वितरण, भेला, प्रशिक्षण, आमसभा लगायत कार्यक्रमलाई तीव्रता दिएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक पार्टीहरुको गाउँगाउँ जाने क्रम तिव्ररुपमा अघि बढेको छ । २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा आ–आफ्नो पक्षमा बहुमत प्राप्त गर्ने होडवाजीमा नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ता गाउँगाउँ दौडधुप गर्न थालेका छन् । काभ्रे जिल्लाको १३ वटा पालिकाको १ सय ३५ वडा मै आ–आफ्नो वर्चस्व कायम गर्न एमाले र कांग्रेस पार्टी शसक्त रुपमा जनताका घर दैलोमा जान थालेका छन् ।
घरघर जाउँ कांग्रेस जिताऔँ अभियान शुरु
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कम्युनिष्टहरुले फैलाएको झुटो अफवाहका कारण एमसीसीको गलत ढंगले व्याख्या भएको दावी गर्नुभएको छ । नेपाली काँग्रेसले सञ्चालन गरेको एक महिने अभियान घर–घर जाउँ नेपाली काँग्रेस जिताऔं” अभियान थाल्नु पर्ने बताउनु भयो । नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय प्रतिनिधि उर्मीला केसीले नेताहरु गाउँ केन्द्रीत हुनुपर्ने र त्यसको परिणाम निर्वाचनमा देखाउनु पर्ने बताउनुभयो । कार्यक्रममा युवा नेता प्रमोद हरी गुरागाई, उपसभापति ठाकुर न्यौपाने, सचिव गुणराज मोक्तान, प्रतिनिधि सभा सभापतिहरु दिनेश लामा र महेश खरेल, प्रदेश सभापति रामहरी श्रेष्ठ, चन्द्र लामा, राम लामा र हेम लामा, बागमती प्रदेशका सदस्य सानु श्रेष्ठ, तरुण दल काभ्रेका अध्यक्ष दावा लामा लगायतले काँग्रेसको अभियानबारे चर्चा गुर्नभएको थियो ।
नेकपा एमाले टोल टोलमा
नेकपा एमाले काभ्रे जिल्ला भरी नै टोल कमिटी गठन गर्ने कार्यलाई तिव्रता दिएको छ । नेकपा एमाले धुलिखेल वडा नं ८ मा झाडीखर्क, लुइटेल टोल र बगैँचा टोल कमीटी गठन गरेको छ । विष्णु खनाल अध्यक्ष, बरिष्ठ उपाध्यक्ष दलबहादुर चौलागाई र उपाध्यक्ष मुकुन्द वडाल सहित ७७ जनाको कमिटी गठन भएको नेकपा एमाले धुलिखेल वडा नं ८ कमिटी सचिव मिलन गौतमले बताउनुुभयो । भाटा पोखरी धोक्रेटोलमा मानवहादुर विसन्खेको अध्यक्षतामा ३९ सदस्यीय टोल कमिटी गठन गरेको छ । त्यस्तै गरी उत्तम खत्रीको अध्यक्षतामा काम पानी टोल कमिटीमा २७ जनाको कमीटी, सुरज शाहको नेतृत्वमा ठकुरी गाउँ टोलमा २३ जनाको कमिटी, पकुचा टोलमा बालकृष्ण तामाङको नेतृत्वमा ५३ सदस्यीय कमिटी गठन गरेको छ । थाक्लेमा सेते तामाङको नेतृत्वमा २९ सदस्यीय टोल कमिटी, भट्टीडाँडामा कुमार तामाङको नेतृत्वमा ५१ सदस्यीय टोल कमिटी गठन गरेको छ । उक्त टोल कमिटी गठनमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य विमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा एमाले धुलिखेल नगर समिति अध्यक्ष दयाराम महत, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु निराजन जंगम, हरिषचन्द्र घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सभापतित्व नेकपा एमाले धुलिखेल नगरपालिका वडा नं ८ कमिटी अध्यक्ष राम तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।
