अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आइतबार चौतर्फी बिरोधका वावजुत संसदमा टेबुल भएको छ । फाल्गुन १२ गते यसबारे संसदमा छलफल हुनेछ तर एमालेका कारण ६ महिना देखि संसद अवरुद्ध छ । एमाले यत्रो मुद्दा सडक र सदनमा उठ्दा रमिते बनेको छ । एमाले अध्यक्ष केपी ओलीलाई सबै भन्दा मज्जा लागेको छ किनभने पञ्चमुखी गठबन्धन भत्किन लागेको छ । स्थानीय चुनाव सन्मुख मै आएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एस पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी गलगाड भएको छ । उनीहरुलाई गठबन्धन भत्किए सास जाला भन्ने डर छ, एमसीसीलाई सदर गरे नाक जाला भन्ने डर छ । दुबैलाई गठबन्धन पनि नभई नहुने, एमसीसीलाई पनि नढाली नहुने भएको छ । प्रचण्ड र नेपाल सत्ताको आस र एमसीसीको त्रासको गोल चक्करमा फसेका छन् । नेपाली कांग्रेस एमसीसीलाई जसरी पनि पास गराउन दौड धूपमा छ । बानेश्वरका सडकमा विप्लव देखि लिंदेलका कार्यकर्ता र जनता एमसीसीको विपक्षमा नारा जुलुस गरिरहेका छन् । सरकारले पानीका फोहोरा र अश्रुग्यासले जुलुसलाई तितर–बितर गर्दै आएको छ । एमसीसीलाई लिएर चीन र अमेरिका वाक युद्धमा ओर्लिएका छन् । एमसीसी संसदमा टेबुल हुनासाथ परराष्ट मन्त्रालयले आइतबार एक बिज्ञप्ति जारी गरेको छ ।
नेपाललाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध सुरु भएपछि नेपालले आइतबार दुवै देशलाई जवाफ दिएको छ । परराष्ट्र मन्त्रालयले आइतबार जारी विज्ञप्तिमा भनिएको छ –कुन विकास सहायता लिने भन्ने निर्णय नेपालको सार्वभौम संसदले मात्र गर्ने जनाएको हो । हाम्रो राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने निर्णय गरेको हो,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता चाहिन्छ भन्ने कुरा नेपालको सार्वभौम संसदले मात्रै निर्णय गर्छ ।’ नेपाल र ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर विभिन्न धारणाहरू सार्वजनिक भएपछि परराष्ट्रले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको लाइन स्पष्ट पारेको हो । ‘नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ । यो नीति अनुरूप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । ‘हामी हाम्रा मित्रहरुबाट निरन्तर सद्भावको आशा गर्दछौ,’ परराष्ट्रले भनेको छ । पछिल्ला दिन नेपाल र एमसीसीलाई लिएर अमेरिका र चीनबीच भनाभन चलेको थियो । अमेरिकाले एमसीसी नेपालको संसदबाट अनुमोदन नभए चीनको कारण त्यस्तो भएको भन्ने बुझ्ने बताएको थियो । त्यसपछि चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपालमाथि ‘धम्कीपूर्ण कूटनीति’ अपनाएको आरोप लगाएको थियो ।
