नमोबुद्ध नगरपालिका–८ डराउने पोखरी दारीमबोटमा पिता जीतबहादुर तामाङ÷माता अष्टमाया तामाङको छोरा चन्द्र लामाको जन्म २०३७ माघ २१ गते भएको हो । निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्ष, युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष समेत भइ जिम्मेवारी समालेका युवा नेता लामा, २०७४ सालको प्रदेश सभाको निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ को ख मा निर्वाचित हुनुभयो । हाल नेपाल सरकार बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पदमा नियुक्त हुनुभएका चन्द्र लमासँग कृषि र सहकारी क्षेत्रको व्यसायिक विकास गर्न कस्तो खालको नीति निर्माण गर्नु हुन्छ नयाँ परिकल्पना के छ भन्ने सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुतु गरिएको छ ।
काभ्रेली माटोमा जन्मीएर युवाको प्रतिनिधित्व गर्दै मन्त्री हुनुभयो, कस्तो अनुभूति गर्नुभयो ?
काभ्रेली जनताको अभिमतबाट म काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ को ‘ख’ बाट नयाँ संघीय संरचनाको २०७४ को निर्वाचनमा बिजयी हाँसील गरेँ । म सर्वप्रथम त नेकपा एमाले पार्टीको सिपाही हुँ । पार्टीले विश्वास गरेर जनअभिमतबाट म यहाँ सम्म आउन सकेको छु । सम्पुर्ण पार्टी कार्यकर्ता अग्रज नेता गण सबैको साथ सहयोगबाट आज म जनताहरुको सुख, शान्ति र समृद्धिको लागि भूमिका खेल्ने ठाउँमा पुगेको छु । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुने अवसर जुटेको छ । निक्कै हर्षित र खुसी छु । जनसेवामा सदा सर्वदा लागि पर्नेछु भन्न चाहन्छु ।
प्रदेश सरकार नै अल्पमत भएको बेला तपाईको मन्त्री पद तपाईले लिएको योजना कति सफल होलान् ?
आवधिक निर्वाचनबाट जन अनुमोदीत भई हामी जनताको सेवकको रुपमा हामी आएका हौँ । पद र प्रतिष्ठाको लागि मैले राजनीति गरेको होइन् । पद सदाको लागि स्थायी हुँदैन । नेकपा एमाले पार्टीले निर्वाचनको बेला घोषणा गरेका जनताका बीचमा गरेको प्रतिवद्धताहरु कम्युनिष्ट सरकारले पुरा गर्दै आएको थियो । पार्टी भित्र केही साथीहरुले पद र प्रतिष्ठा नपाएकै झोकमा केपी ओली नेतृत्वको सरकार गिराए । माधव नेपालले पार्टी फुटाएर (नेकपा एकीकृत समाजवादी) गठन गरेर जानु भएको छ । ५० वर्षे यात्रामा कम्युनिष्ट आन्दोलनमा लागेर दुईतिहाइ नजिकको सरकार विफल बनाउने माधव प्रवृतिले जनता र मुलुकलाई धोका दिएका छन् । यो मुल्याङ्कन जनताले गर्ने नै छन् । म आफू सांसद र मन्त्री पदमा रहिन्जेल जनताले दिएको जिम्मेवारी अनुशासित ढङ्गले बागमती प्रदेशको १३ वटै जिल्ला र १ सय १९ पालिकाको भूमि व्यवस्था, कृषि तथा सहकारी क्षेत्रको विकास गरी भएका विकृति वेथितीलाई नियन्त्रण गरी समाज रुपान्तरण गर्न लागि पर्नेछु । शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधारको विकासमा चरण बद्ध रुपमा विकास अघि बढेको छ । नीति, विधि र पद्धतीमा रहेर सिमित स्रोत साधनको अधिकतम उपयोग गरी दिगो विकास गर्न लागि पर्नेछु ।
मन्त्री भई सके पछि के कुरामा प्राथमिकता दिने सोच्नु भएको छ ?
जनताका विचमा सँगसँगै सुख दुःखमा साथ दिदै आएको व्यक्ति हुँ । काभ्रे जिल्लाको निर्माण क्षेत्रमा व्यसायिक ढङ्गबाट पनि अघि बढे । अहिले बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी क्षेत्रको १३ वटै जिल्लाको समस्यालाई बुझ्ने र समाधान गर्ने, आवश्यक पर्ने राम्रा नीति बनाउने ठाउँमा पुगेको छु । “जनताको जीवन स्तरमा साच्चै परिवर्तन ल्याउन कृषि क्षेत्रको विकासमा आधुनिकीकरण गर्नुछ । वास्तविक किसानले सरकारले दिएको कृषि क्षेत्रको अनुदान पुग्न नसकेको यथार्थ हाम्रा सामु छ । त्यस्ता खालका गतिविधिलाई रोकी कृषि क्षेत्रलाई आत्म निर्भर बनाउने योजनाका साथ अघि बढ्छु । पहिले नै यो गर्छु, त्यो गर्छु भन्नु भन्दा पनि जनताहरुले आभाष र अनुभूति हुने गरी कार्य गर्ने छु । ग्रामिण अर्थतन्त्र आत्मनिर्भर बनाउन, आयत घटाउन, निर्यात बढाउन मेरो ध्यान केन्द्रीत हुनेछ ।”
हरेक वर्ष किसानहरुले समयमा नै मल विउ विजन प्राप्त गर्न नसक्ने कृषि क्षेत्रको व्यवसायिकरण हुन नसक्नुले सरकारले गरेको लगानी बालुवामा पानी नै भएको छ नि ?
आफ्नो देशमा नै मल उत्पादन कम्पनी खोल्न सकेको छैन । मल उत्पादन कम्पनी खोल्ने तयारी गरेको छ । केन्द्रीय सरकारले बजेट पनि छुट्टाएको छ । अवको केही वर्ष भित्रमा किसानहरुले मल सहजरुपमा आफ्नै देशबाट प्राप्त गर्न सक्ने छन् । अन्य देशको भर पर्नुपर्ने परेकोले समस्या आएको हो । बागमती प्रदेश सरकारले पनि यो किसानको समस्यालाई समाधान गर्न लागि पर्नेछ । उन्नत जातका विउ विजन सहुलियत दरमा पालिकाका हरेक वडा वडाबाट वितरण गरिएको छ । कृषि औजार यान्त्रीकीकरण कृषि क्षेत्रको व्यवसायिकरण, पर्यटन क्षेत्रको विकास गर्न दत्तचित्त भएर लाग्ने छु ।
सहकारी क्षेत्रको संख्यात्मक वृद्धि भएको छ । व्यवसायिक र दिगो विकास अझै हुन सकेको छैन यसको स्थायित्व दिन कसरी सम्भव देख्नुहुन्छ ?
कुल सहकारी संख्या मध्ये ४४ प्रतिशत सहकारी संस्थाहरु बागमती प्रदेशमा मात्र छन् । सहकारी क्षेत्रको तिव्र विकासले थोरै हद सम्म भए पनि गरिवी निवारण गर्न, आर्थिक क्षेत्रको विकासमा सहयोग पु¥याएको छ । सहकारी क्षेत्रको व्यवसायिक विकास गर्न दिगोपन दिन उत्पादनलाई उद्योगसँग जोड्न सक्ने नीति बनाउनु छ । सहकारी मैत्री कानुन निर्माण, आर्थिक क्षेत्रको विकासका सम्भावनालाई नियालेर जुनजुन क्षेत्रमा जेको सम्भावना छ । त्यसको पहिचान गर्ने, सहकारी संस्थाको अभिलेखिकरण गर्ने कर्मचारीहरुको क्षमता अभिवृद्धि, सस्थाको बृद्धि विकासको लागि केहि रकम सरकारले दिने केहि रकम सहकारी संस्था आफैले व्यवस्था गरेर जनताको जीवन स्तरमा साच्चै परिवर्तन ल्याउन सक्ने अवस्था श्रृजना गर्नुपर्छ ।
बागमती प्रदेशको सरकारमा काभ्रे जिल्लाको युवाको प्रतिनिधित्व गरेर मन्त्री बन्नु भएको छ जनताले के आशा र भरोसा गर्ने त ?
देशकै सामाजिक र आर्थिक रुपान्तरणको मुख्य लक्ष्य बोकेर गरीवीको रेखामुनि रहेको जनताको जीवनमा समृद्धि ल्याउन, सभ्यता सहितको समग्र देशको विकास गर्नु नै कम्युनिष्ट सरकार आवश्यक छ । त्यहि अनुरुप विकास र समृद्धिको खाका कोरेर अघि बढेको हो । काभ्रे जिल्लाको मात्र नभइ बागमती प्रदेशको १३ वटै जिल्लाको विकासमा अघि बढ्ने जिम्मेवारी पाएको छु । काभ्रेली माटोमा जन्मेर जनताको विश्वसले जनमत प्राप्त गरेर यस ठाउँमा पुगेको छु । मैले सकेको राम्रो गर्ने छु । जनतामा ठेस लाग्ने कुनै कार्य गर्ने छैन् । हिजोको दिनमा जनताका समस्याहरुलाई समाधान गर्ने भौतिक पूर्वाधार क्षेत्रको दिगो विकासका सवालमा होस जनताहरुलाई छिटो सेवा सुविधा पु¥याउन जनताका सुख दुःखमा हिजो पनि साथ दिएँ, आज पनि दिने छु र भोली पनि साथ दिने छु ।
तपाई सँगैका साथीहरु लक्षमण लम्साल र बसुन्धरा हुमागाइले एमाले छाडेर हिड्नु भयो । उहाँहरुलाई के भन्नु हुन्छ ?
कम्युनिष्ट आन्दोलनको लामो इतिहास छ । ७० वर्ष पछि कम्युनिष्टले सरकारको बागडोर समाल्न पायो । जोगाउन नसक्नु आफ्नै पार्टी भित्रका अनुशासनहिन पद लोलुप नेता माधव कुमार नेपालको एक समुहले ध्वस्त पार्न खोजे पनि उहाँको जनमत देखि सकियो । नेकपा एमालेलाई सक्काएर प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन लाग्नु जस्तो कुकर्म के हुन्छ । धोकेवाजहरु जनताले तिरस्कार गर्ने छन् । नेकपा (एकीकृत समाजवादी¬) खोलेर ठूलो भाग खान गएकाहरु केहि समय पछि नेकपा एमाले पार्टीको महासागरमा आउने छन् । साथीहरु विभिन्न लोभलालचमा फसेर बाध्यतामा परेर गएका छन् । देशभरीको अवस्था नियाल्ने हो भने कहिले १० प्रतिशत जनमत मात्र देखिएको छ । काभ्रे जिल्लामा स्थानीय पालिकामा ३ सय ४४ सिट जितेकोमा ५६ जना जनप्रतिनिधिले मात्र नेकपा (एकीकृत समाजवादी) रोजेका छन् भने पछि राम्रो सँग बुझ्दा भइगोनी अवस्था के रहेछ भनेर ।
